प्रणव र राजवीरको जोडी फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन १० गते, बिहीबार ०३:२४

प्रणव मानन्धर र राजवीर प्रधानको जोडी बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको पुरुष डबल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले सिंगल्समा नेपाल नम्बर वान प्रदीप खड्का र युगेन शेर्पाको जोडीलाई ७–५, ४–६ र ११–९ को सेटमा पराजित गरे । फाइनलमा उक्त जोडीको भेट प्रणव खनाल र सक्षमविक्रम शाहीको जोडीसंग हुनेछ । अर्को सेमिफाइनलमा प्रणव र सक्षमको जोडीले निहालजंगबहादुर थापा र आयुशमान घलेको जोडीलाई ६–४, ४–६ र १३–११ को सेटमा हराए ।
भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले सुन्निभ राजभण्डारी र अमर गुरुङको जोडीलाई ६–० र ६–१ तथा सन्तोष खत्री र सुवास बस्न्यातको जोडीले सिमान्त गुरुङ र भीष्मजंग गुरुङको जोडीलाई ६–१, २–६ र १०–५ ले पाखा लगाए । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, छेवाङ लामा, कमलबहादुर भण्डारी र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान सुरक्षित गरे । ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोजविक्रम शाह, डियोनम लामा, कमल थापा र उत्तम बोगटी सेमिफाइनलमा पुगे ।
नेपाल टेनिस संघ र ढोकइमा क्याफेको सहयोगमा भइरहेको प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा, डियोनम लामा, कर्मा घले र ध्रुव गुरुङले सेमिफाइनलमा स्थान बनाए । ४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही, कृष्णराज घले र महेश श्रेष्ठ, कमलबहादुर भण्डारी र रविन गुरुङ तथा रोहित सुनुवार र हिमाल शाहको जोडीले सेमिफाइनल यात्रा तय गरे । ५५ वर्षमाथि पुरुष डबल्समा जीवन घिमिरे र राजेन्द्र भण्डारी, मनोज राणा र डेगेन्द्र श्रेष्ठ तथा उत्तम शेर्पा र चन्द्र शाहीको जोडीले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पन्छ्याउदै सेमिफाइलनमा स्थान पक्का गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु