१६ असोज २०८१ शर्मिला विश्वकर्मा, काठमाडौँ
अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्र काठमाडौँको आयोजना तथा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान ) र स्पाइनल कर्ड इन्जुरी नेटवर्कको सहकार्य तथा Disability Rights Fund र Disability Rights Advocacy Fund को साझेदारीमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूका लागि अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम काठमाडौँमा सम्पन्न गरेको छ ।
असोज १५ र १६ गते काठमाडौँमा आयोजना गरिएको उक्त कार्यक्रममा अपाङ्गता विज्ञ तथा अधिकारकर्मी मनिष प्रसाईँले कार्यक्रमको सहजीकरण गर्दै पहिलो दिन अपाङ्गता प्रतिको साझा बुझाईका विषयमा प्रस्तुतीकरण गर्नु भयो । उक्त प्रस्तुतीकरणमा उहाँले जनप्रतिनिधिहरूसँग अपाङ्गताको विषयमा उहाँहरूको बुझाई कस्तो रहेको छ, अपाङ्गतालाई समाजमा कसरी लिने गर्दछन् भन्ने सवालमा उहाँहरूको अनुभव सोध्नु भएको थियो । यसै क्रममा उहाँले अपाङ्गताको बुझाई प्रति हुँदै आएको चरणवद् विकासका बारेमा जानकारी गराउनु भयो । उहाँले सुरुवातमा अपाङ्गतालाई दया मायाको रूपमा हेरिने, चिकित्सा शास्त्र अनुसार परिभाषित गरिएको, सामाजिक बुझाई, मानव अधिकारको दृष्टिकोण तथा परम्परागत सोचका विषयमा प्रस्ट पार्नु भएको थियो ।
त्यसै गरी कार्यक्रमको दोस्रो दिन उहाँले अपाङ्गता समावेशी कार्यक्रमका विषयमा प्रस्तुतीकरण गर्नु भयो । यस प्रस्तुतीकरणमा उहाँले अपाङ्गता समावेशी कार्यक्रम, लक्षित कार्यक्रमका विषयमा जानकारी गराउनु भयो । अपाङ्गता समावेशी कार्यक्रम अन्तर्गत विद्यालय सुधार मर्मत, शैक्षिक कार्यक्रममा सुधार, शिक्षक क्षमता विकास, आधारभूत स्वास्थ्य सेवा, विद्यालय भर्ना अभियान, सार्वजनिक सूचना र सञ्चार, रोजगार तथा स्वरोजगार कार्यक्रम, सीप विकास तथा व्यावसायिक तालिम, विपत् पूर्व तयारी तथा व्यवस्थापन भएको भन्दै स्थानीय तहका पालिकाका विभिन्न कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूका लागि माथि उल्लेख गरिएका कार्यक्रमहरू समावेश गर्नु पर्ने बताउनु भयो । उहाँले परिचय पत्र वितरण, अपाङ्गता पहिचान तथा परामर्श, अपाङ्गता सम्बन्धी जनचेतना, पारा खेलकुद, सहयोगी सेवा, हेरचाह सेवा, अपाङ्गताका विभिन्न सवाल केन्द्रित छलफल, गोष्ठी, तालिम र सेमिनार लगायतका कार्यक्रमहरू हुने बताउनु भयो ।
स्थानीय तहका जनप्रतिनिधिहरूका लागि अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्र काठमाडौँका महासचिव गणेश के.सी.ले अपाङ्गता भएका व्यक्तिहरूले
सरकारबाट प्राप्त गर्ने सेवा तथा सुविधाहरू र उपभोगका चुनौतीहरूको विषयमा, Disability Rights Fund का अधिकृत कृष्ण गहतराजले अपाङ्गता समावेशी विकास र यसको आवश्यकताका विषयमा, आर.सी.आर.डी. भक्तपुरका निर्देशक सूर्यभक्त प्रजापतिले समावेशी समाज निर्माणमा स्थानीय सरकारको आधारभूत भूमिका र पद्मकन्या कलेजकी उपप्राध्यापक तथा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान ) की अध्यक्ष प्रतिमा गुरुङले अपाङ्गता समावेशी विकास र अन्तरसम्बन्धका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यस कार्यक्रममा सहभागी हुनु भएका बुढानीलकण्ठ नगरपालिका वडा नं ६ की वडा सदस्य मेनुका भूषालले स्थानीय सरकारले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि काम गर्न नसकेको भन्दै अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले उनीहरूका लागि गरिएको कामको तथ्याङ्क लिनु पर्ने, गरिएका कामको प्रभावकारिताका विषयमा विभिन्न समयमा अनुगमन गर्नु पर्ने बताउनु भयो । त्यसै गरी टोखा नगरपालिकाकी कार्यपालिका सदस्य शान्त राईले सबैका लागि समान शिक्षा भनिएता पनि अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गताको अनुकूलताका आधारमा सहज रूपमा शिक्षा लिन नपाएको, अपाङ्गता मैत्री भौतिक संरचना निर्माणको सुरुवात भएता पनि पहुँचयुक्त संरचनाको अभाव रहेको, विशेष शिक्षकहरूको अभाव रहेको बताउनु भयो ।
स्थानीय तहका जनप्रतिनिधिहरूका लागि अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको समापनका क्रमको कार्यक्रमका प्रमुख अतिथि एवं दिगो विकास तथा सुशासन समितिका पूर्व सभापति प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि स्थानीय तह देखि नै सबै मिलेर उनीहरूका लागि कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने, स्थानीय तहका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई समान रूपमा अपाङ्गता अनुकूलको वातावरण निर्माण गरेर समावेश गरिनु पर्ने भन्दै आफ्नो तर्फबाट पनि सम्बन्धित निकायको ध्यान केन्द्रित गर्न सक्दो पहल गर्ने बताउनु भयो ।
त्यसै गरी आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वावलम्बन जीवन पद्ती केन्द्र काठमाडौँका अध्यक्ष टेक बहादुर गुरुङले यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरूलाई स्वावलम्बन बनाउनका लागि स्थापनाकाल देखि नै विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गरेर काम गर्दै आएको भन्दै स्थानीय निकायहरूले पनि आफ्ना नियमित कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गर्नु पर्ने बताउनु भयो । साथै उहाँले स्थानीय तहका कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गर्नका लागि कुनै चुनौती भएमा, अपाङ्गताका विषयमा बुझ्न कठिन भएमा, वकालत तथा पैरवी गर्ने लगायतका सहयोगहरू आवश्यक भएमा संस्थागत रूपमा समन्वय गर्ने बताउनु भयो । त्यसै क्रममा उहाँले स्थानीय निकायहरूले अपाङ्गताका सवालहरूलाई हरेक कार्यक्रमहरूमा प्राथमिकताका साथ समावेश गर्नु पर्ने कुरामा जोड दिनु भयो ।