१६ असोज २०८१ शर्मिला विश्वकर्मा, काठमाडौँ
मानिसहरूको मानव अधिकार जस्तै पशुपक्षी तथा जनावरहरूको पनि अधिकार हुन्छ । पशु कल्याणका लागि एनिमल नेपालले काम गर्दै आएको छ । यस संस्थाले सामुदायिक कुकुरहरूको व्यवस्थापन, अन्य कल्याणकारी कार्यक्रमहरू, अण्डा उत्पादन गर्ने कुखुराहरूको कल्याण र मासु खपतका लागि प्रयोग हुने जनावरहरूको ढुवानी गर्दा सुनिश्चित गर्नु पर्ने विभिन्न उपचार तथा कल्याणका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
हरेक वर्षको अक्टोबर महिनाको ४ तारिखका दिन विश्व भरी विश्व पशु दिवस अर्थात् जनावर दिवस मनाउने गरिन्छ । यस अवसरमा पशुपक्षी तथा जनावरहरूको सुरक्षाको लागि काम गर्ने विभिन्न संघ संस्थाहरूले उनीहरूको सुरक्षित हुन पाउने अधिकारका सवालहरू अगाडि बढाउँदै पशुपक्षीहरूको कल्याणकारी सुनिश्चितताको विषयमा आवाज उठाउने गरिन्छ ।
यसै सन्दर्भमा असोज १२ गते World Rabies day, असोज १६ गते World Farm Animals day र १८ गते World Animal day को अवसर पारेर एनिमल नेपालले गत मंङ्गलबार सञ्चारकर्मीहरूसँग कार्यक्रम प्रमुख सुरक्षणा राणाले अहिले अविरल वर्षा, बाढी पहिरोको कारणले बाटोहरू अवरुद्ध हुँदा ट्रकहरूमा ढुवानी गरेका राँगा, भैसीहरुलाई २/३ दिन सम्म एकै ठाउँमा राखिएको, उनीहरूलाई पानी, घाँसहरू नदिएको र क्वारेनटाइनमा राखेर आराम नगरिएको पाइएको
र यसका लागि सम्बन्धित निकायमा पहल गर्दा सुनुवाइ नभएको गुनासो व्यक्त गर्नु भएको थियो ।
विगतका दिनमा पनि बाढी, पहिरो जाँदा पशु ढुवानी सेवा कठिनाइ भएको, बाटो बन्दा हुँदा ट्राफिक प्रहरीसँग पशुपक्षी तथा जनावरहरूको सुरक्षित ढुवानीका लागि पहल गरिएको, विभिन्न स्थानहरूमा क्वारेनटाइन तथा विश्राम स्थलहरूको निर्माणका लागि पहल गरिएको तर पनि उक्त कार्यहरू हुन नसक्दा ढुवानीका क्रममा मासु उपभोगका लागि प्रयोगका गरिने जनावरहरूले ज्यादै दुःख भोग्न परेको अवस्था रहेको बताउनु भयो ।
यसै क्रममा उहाँले पशु ढुवानी गर्दा पशु मापदण्ड विपरीत हुने गरेको, जसमा कुखुराहरूलाई पनि सानो सवारी साधनमा धेरै भन्दा धेरै कोचेर ल्याउने, राँगा, भैसीहरुको नाकमा रसी बान्दा, धेरै भएर एक आपसमा ठोक्किँदा, एकले अर्कालाई थिच्दा, सवारी साधनमा फम तथा भुसहरू नराख्दा चोट लागेर उनीहरूको शरीरबाट रगत बग्ने गर्दा पनि ती जनावरहरूलाई कुनै औषधी उपचार नगरेको , ढुवानीकर्ताले नरम धागो, पराल, फम, भूस नगरेको देखिएको बताउनु भयो ।
एनिमल नेपालका कार्यक्रम प्रमुख सुरक्षणा राणाका अनुसार आफूहरूले जनावर तथा पशुपक्षीहरूका अधिकारका लागि विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गरेर काम गर्ने क्रममा काठमाडौँ महानगरपालिकाले पशुपक्षीहरू तथा मासुजन्य जनावरहरूको ढुवानीका क्रममा बिरामी भएका जनावरहरूलाई आरामको लागि ५ दिन सम्म क्वारेनटाइन बनाएर राख्ने, ल्याब टेस्ट गर्ने व्यवस्था गर्ने भनिएता पनि त्यो कार्य हुन नसको बताउनु भयो । यसै क्रममा उहाँले राँगा भैँसीको तौल अनुसार १८ देखि २० वटा जनावरलाई मात्रै सवारी साधनमा राखेर ढुवानी गर्नु पर्ने, प्रतिघण्टा ४० किलो मिटर हिँडाउने र ६ / ६ घण्टामा आराम गराउनु पर्ने मापदण्ड रहेको तर उक्त मापदण्ड कार्यान्वयन हुन नसकेको, चितवनमा आराम तथा विश्राम कक्ष बनाउने भनिएता पनि त्यो कार्य हुन नसेको गुनासो गर्नु भयो ।
गत १५ गते काठमाडौँमा जनावर तथा पशुपक्षीहरूको विषयमा पत्रकारहरूसँग गरिएको छलफलमा एनिमल नेपालका जनावरहरूको सुरक्षा, पशुपक्षीहरूको कल्याणकारी सुनिश्चितता हुनु पर्ने, यसका लागि सबै नागरिकहरूले आ-आफ्नो स्थानबाट सहयोग गर्नु पर्ने र सञ्चार माध्यमहरूले बढी भन्दा बढी आवाज उठाउन सकुन् भन्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको एनिमल नेपालकी फिल्ड सुपरभाइजर लक्ष्मी खत्रीले बताउनु भयो । साथै उहाँले सञ्चारकर्मीहरूले पशुपक्षी तथा जनावरहरूको सहज जीवन यापनका लागि, सुरक्षाका लागि, विना पीडामा बाँच्न पाउने अधिकारको सुनिश्चित गराउनका लागि पत्रकारहरूले समाचार तथा लेख रचनाहरू लेखेर सरकारलाई दबाब दिनु आग्रह गर्नु भयो ।
नेपाल सरकारले पशु सेवा ऐन २०५५, त्यसको नियमावली २०५६ र पशु ढुवानी मापदण्ड २०६४ ल्याएको छ । यसमा प्रत्येक पशुहरू ढुवानी गरिने सवारी साधनमा प्राथमिक बाकस हुनु पर्ने, शारीरिक बनोट फरक भएका पशुहरूको ढुवानी एउटै सवारी साधनमा गर्न नहुने, ढुवानी गर्दा सबै जनावरको मुख चालक तर्फ फर्काइनु पर्ने, नाक, कान, पुच्छरमा डोरी बाँध्न नहुने, जनावरले टेक्ने भुईँमा ६ इन्च बाक्लो भुस, पराल वा सोतर राखिनु पर्ने भनी भनिएको छ ।
साथै सवारी साधनमा ती जनावरहरूका लागि पराल, दाना पानीको व्यवस्था गरिनु पर्ने, ८ घण्टा भन्दा बढीको यात्रा गर्न नहुने र यात्रा गरे पछि यी जनावरहरूलाई ओरालेर दाना पानी खुवाउनु पर्ने र केही समय आराम गराउनु पर्ने भनिएको छ । सवारी साधनका छेउ छेउमा फम टाँसिएको हुनु पर्ने, ठुला पशुहरूलाई प्रति ०.८४ देखि १.२७ वर्ग मिटर सम्म खाली स्थानमा राखिनु पर्ने लगायतका मापदण्डहरू रहेका छन् तर ती कार्यान्वयन हुन नसकेको र यसको लागि सबै जनाले एक जुट भएर सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गर्नु पर्ने कुरामा एनिमल नेपालकी कार्यक्रम प्रमुख सुरक्षणा राणाले सञ्चारकर्मीहरूलाई आग्रह गर्नु भयो ।