विश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ आश्विन २१ गते, सोमबार १०:१८

२१ असोज २०८१ शर्मिला विश्वकर्मा, ललितपुर

अन्तर्राष्ट्रिय रूपमा मनाइने विभिन्न दिवसहरू मध्ये विश्व मस्तिष्क पक्षाघात दिवस पनि एक हो । यो दिवस हरेक महिनाको अक्टोबर ६ तारिखका दिन मस्तिष्क पक्षाघात अपाङ्गताको विषयमा जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाउने गरिन्छ । यसै क्रममा हिजो अक्टोबर ६ तारिखका दिन मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपाल धापाखेलले ललितपुर महानगरपालिकाको प्राङ्गणबाट शान्तिपूर्ण र्याषली गरी जाउलाखेलमा गएर शुभकामना मन्तव्य सहित विश्व मस्तिष्क पक्षाघात दिवस २०२४ सम्पन्न गरेको छ ।

#Uniquely CP ( ह्याजट्याक यूनिक्लि सीपी ) भन्ने नारा सहित मनाइएको यस दिवसको र्या#लीको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २४ का कार्यवाहक अध्यक्ष हरिकृष्ण महर्जनले रिबन काटेर गर्नु भयो । शुभकामना मन्तव्यका क्रममा उहाँले मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालले मस्तिष्क पक्षाघात अपाङ्गता भएका बालबालिकाहरू र उनीहरूका अभिभावकहरूका लागि सञ्चालन गर्दै आएको कार्यको प्रशंसा गर्दै यस्ता बालबालिकाहरूका लागि विगतका दिनमा वडा मार्फत केही कार्यहरू गर्दै आएको र आगामी दिनमा पनि सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

त्यसै गरी विशेष अतिथि तथा किनवानिक नेपाल डिस्ट्रिक्ट गभर्नर केपी ज्ञवालीले यस्ता बालबालिकाहरूको जीवन स्तरमा सुधार ल्याउनका लागि, उनीहरूका हक अधिकार सुनिश्चित गर्न र मानव अधिकारको प्रत्याभूति गर्नका लागि सबैले मिलेर काम गर्नु पर्ने भन्दै यस दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भयो ।

यस कार्यक्रममा आयोजक संस्था मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका पूर्व कार्यकारी प्रमुख विमललाल श्रेष्ठले स्थानीय तहबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि केही कार्यहरूको सुरुवात भएको भन्दै ललितपुर महानगरपालिका वडा नं २४ का वडा अध्यक्षले मस्तिष्क पक्षाघात स्वावलम्बन समूह भएको स्थानलाई मस्तिष्क पक्षाघात सडक भनेर नामकरण गर्नु भएकोमा धन्यवाद दिँदै अबका दिनमा पनि वडा तथा महानगरपालिका मार्फत मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्ति र अभिभावकहरूका लागि उपयोगी कार्यक्रमहरू सञ्चालन गर्न आग्रह
गर्नु भयो । साथै उहाँले विश्व मस्तिष्क पक्षाघात दिवसलाई यसैसँग सम्बन्धित संस्थाहरूले मात्रै नभएर वडा, नगरपालिका तथा महानगरपालिकाहरूले पनि कार्य योजना भित्र समावेश गरेर मनाउनु पर्ने, जनचेतनाका कार्यक्रमहरूको आयोजना गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति तथा प्रोफेसर डा. केदारभक्त माथेमाले मस्तिष्क पक्षाघातको विषयमा समाजमा जनचेतना जगाउनु पर्ने, जनप्रतिनिधिहरूलाई यस विषयमा सचेत गराउनु पर्ने भन्दै यस दिवसको अवसरमा सबैलाई शुभकामना दिनु भयो ।

#Uniquely CP ( ह्याजट्याक यूनिक्लि सीपी ) भन्ने नारा सहित मनाइएको विश्व मस्तिष्क पक्षाघात दिवस २०२४ का अवसरमा आयोजित कार्यक्रममा आयोजक संस्था मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका कार्यकारी प्रमुख शुशिलमान सिंह प्रधानले यस दिवसलाई सन् २०१२ देखि सेलेब्रल पल्सि अलाइन्स अस्ट्रेलियाले मनाउन सुरु गरेको र नेपालमा यसै संस्थाले सन् २०१४ देखि ललितपुरको मङ्गल बजारमा र्याेलीको आयोजना गरेर मनाउन सुरु गरिएको बताउनु भयो । साथै उहाँले अहले यो दिवसलाई विश्वका ४५ वटा देशहरूले मनाउँदै आएको र विभिन्न तथ्याङ्क अनुसार विश्वमा १ करोड ७० लाख मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरू रहेको पाइएको बताउनु भयो । नेपालमा भने सही तथ्याङ्क नभए पनि छिमेकी राष्ट्र भारतमा १ हजार जनाको जन्म हुँदा ३ जना मस्तिष्क पक्षाघात अपाङ्गता भएका बच्चा जन्मिने तथ्याङ्क देखिएको हुँदा नेपालमा पनि सोही सङ्ख्यामा मस्तिष्क पक्षाघात अवस्थाका व्यक्तिहरू रहेको अनुमान गर्न सकिने भन्दै यस संस्थाले सन् १९८६ देखि काम गर्दै आएको र वार्षिक रूपमा २५ सय जनालाई सेवा प्रदान गर्दै आएको बताउनु भयो । साथै उहाँले हरेक वर्षको अक्टोबर ६ तारिखका दिन मनाइने विश्व मस्तिष्क पक्षाघात दिवसको उद्देश्य समाजमा जनचेतना जगाउने रहेको बताउनु भयो ।

विश्व मस्तिष्क पक्षाघात दिवस २०२४ का अवसरमा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालले ललितपुरमा आयोजना गरेको सो कार्यक्रमलाई संवोधन गर्दै नवआगमन संरक्षक समाज नेपालकी सचिव तथा अभिभावक लक्ष्मी बस्नेतले स्थानीय निकायहरूले अपाङ्गताका सवाललाई खासै चासोको रूपमा नलिएको भन्दै उनीहरूको हक हित र अधिकारका लागि सधैँ सडकमा नारा लगाउन अभिभावकहरू बाध्य भएको बताउनु भयो । त्यसै गरी उहाँले राज्यले अपाङ्गताको अवस्था अनुसार राज्यले सेवा सुविधामा वृद्धि गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

यसै गरी करुणा फाउन्डेसन नेपालकी एड्भोकेसी अफिसर शोभा माया वि.क.ले अपाङ्गतामा पनि विविधता तथा जटिलता हुने र उक्त विविधता अनुसारको कठिनाइको पहिचान गरी राज्यले जीवन उपयोगी कार्यक्रमहरू सञ्चालन गरिनु पर्ने र मस्तिष्क पक्षाघात लगायत अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई घर भित्र नै लुकाएर राख्न नहुने, समाजमा घुलमिल गराउनु पर्ने भनेर चेतना जगाउनुका साथै अभिभावलाई प्रेरित गर्न सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

सो कार्यक्रममा मस्तिष्क पक्षाघात स्वावलम्बन समूह नेपालका Self- Help ग्रुपका सेलेब्रल पल्सी टेक्निकल डाइरेक्टर तथा बाल रोग विशेषज्ञ डा. प्रज्ञा कर्माचार्य राज भण्डारीले मस्तिष्क पक्षाघात कुनै रोग नभएर यो एक अवस्था रहेको र बच्चा गर्भावस्थामा रहँदा आमालाई थाइराड, सुगर, प्रेसर जस्ता रोगहरू हुँदा, बच्चा जन्मने क्रममा धेरै समय सम्म पाठेघर भित्र नै अड्केर बस्दा श्वास फेर्न गारो हुँदा, बच्चाले दिसा खाएमा, दिमागमा अक्सिजनको कमी भएमा वा बच्चा जन्मेको ५ वर्षमा कुनै दुर्घटना भएर टाउकोमा चोट लाग्न गएमा मस्तिष्क पक्षाघात हुन सक्ने बताउनु भयो । यसलाई समयमा नै उपचार गर्न सकेमा पूर्ण रूपमा निको नभएता पनि जीवन सहज बनाउन सुधार गर्न सकिने भन्दै हरेक वर्षको अक्टोबर ६ तारिखका दिन मनाइने विश्व मस्तिष्क पक्षाघात दिवसको उद्देश्य यस विषयमा जनचेतना जगाउनु रहेको बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु