आईएसएफ जिम्नासाइडमा बहराइनमा सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक १० गते, शनिबार ०८:५१

अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) को आयोजनामा आईएसएफ जिम्नासाइड समर गेम्स बहराइनको मानामा सुरु भएको छ । बहराइन नेसनल स्टेडियममा बिहीबार राती अबेर सम्पन्न उद्घाटन समारोहको मार्च पास्टमा बक्सिङ खेलाडी नोबु थेन्डुप लामाले नेपालको झण्डा बोकेका थिए । उद्घाटनका अवसरमा विद्यार्थीहरुले आकर्षक प्रस्तुती प्रदर्शन गरेका थिए भने आतिश बाजी पनि गरिएको थियो ।
बहराइन जिम्नासाइडमा ६९ राष्ट्रबाट २ हजार १ सय ७२ पुरुष तथा १ हजार ५ सय ४२ महिला गरी कुल ३ हजार ७ सय १४ खेलाडीको सहभागिता रहेको छ । नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी छन् । खेलाडीसहित ५८ सदस्यीय नेपाली टोलीलाई मानामास्थित विङदाम गार्डेन होटलमा राखिएको छ ।
आयोजक राष्ट्र बहराइनले सबै भन्दा बढी ३ सय ६१ खेलाडी सहभागी गराएको छ । सबै भन्दा कम खेलाडी सहभागी गराएको राष्ट्रमा लक्जम्वर्ग, मोन्टेनेग्रो, ताजकिस्तान र टोगो रहेका छन् । यि ४ राष्ट्रबाट समान २–२ खेलाडी सहभागी छन् । खेलाडीसहित प्रशिक्षक, निर्णायक, टोली प्रमुख, अफिसियललगायत गरी ५ हजार ४ सय ५३ जना बहराइनमा भेला भएका छन् । पाहुना टोलीको व्यवस्थापनका लागि २८ होटल प्रयोग गरिएको छ । दक्षिण एसियाली राष्ट्रबाट नेपालसहित भारत, बंगलादेश र पाकिस्तान मात्र सहभागी छन् ।
नेपालबाट बास्केटबलको पुरुष थ्री बाइ थ्रीमा सबै भन्दा बढी १५ खेलाडी सहभागी छन् । १५ खेलाडीको ४ टिमले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सबै भन्दा कम ब्याडमिन्टनमा १ खेलाडी सहभागी छन् । बक्सिङमा ५, टेबलटेनिसमा ६ र तेक्वान्दोमा ५ खेलाडीको सहभागिता रहेको छ ।
यु–२० उमेरसमूहको आईएसएफ जिम्नासाइड १९७४ मा पहिलोपटक जर्मनीमा भएको थियो । बहराइनमा भइरहेको २० औं संस्करणमा पारासहित २६ खेल समावेश छन् । एथलेटिक्स, ब्याडमिन्टन, जुडो र पौडीमा पाराको पनि प्रतिस्पर्धा भइरहेको छ । पारा विधामा नेपालको सहभागिता छैन ।
प्रत्येक २ वर्षको अन्तरालमा हुने आईएसएफ जिम्नासाइडको १९ औं संस्करणमा नेपालले पहिलोपटक भाग लिएको थियो । पहिलो संस्करण फ्रान्सको नोर्मन्डीमा भएको थियो । त्यसबेला नेपालले पौडी, टेबलटेनिस, तेक्वान्दो र बास्केटबलमा भाग लिएको थियो ।
टेबलटेनिस ः
आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपाल पराजित भएको छ । इसा स्पोर्ट्स सिटीको हल ‘बी’ मा नेपालले महिला टिम इभेन्टमा २ खेल खेलेको थियो । दुवैमा नेपाल चुक्यो ।
पहिलो खेलमा इङल्यान्डले नेपाललाई ४–३ ले पराजित ग¥यो । अर्को खेलमा नेपाल अजरवैजानसंग ५–२ ले पछि प¥यो । महिला टिममा इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले प्रतिस्पर्धा गरिहरहेका छन् । नेपालले शनिबार इटाली र चाइनिज ताइपेईंसंग खेल्ने छ । टेबलटेनिसमा नेपालले महिलामा सिंगल्स र टिम तथा पुरुषमा सिंगल्स स्पर्धामा भाग लिएको छ ।
बक्सिङ ः
बक्सिङमा नेपाली खेलाडी युनिक राई पहिलो चरणमा पराजित भएका छन् । अल अहली क्लबमा भएको पुरुष ६३ केजीमुनि प्रिक्वाटरफाइनलमा युनिक रोमानियाका स्टेगारीसंग ५–० ले पराजित भए ।
शनिबार २ नेपाली पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ७५ केजीमुनि नोर्बु थेन्डुप शेर्पा र ८० केजीमुनि सूर्यान वैद्यले खेल्ने प्रशिक्षक दीपक महर्जनले जनाएका छन् । बक्सिङमा ४ पुरुष र १ महिला गरी ५ खेलाडी सहभागी छन् ।
नेपालले शनिबारै बास्केटबल र ब्याडमिन्टनमा पनि प्रतिस्पर्धा गर्ने छ । इसा स्पोर्ट्स सिटी– आउटडोरमा हुने बास्केटबलमा नेपालको ४ टिम शनिबार मात्र ९ खेल खेल्ने छ । नेपाल ‘वान’ ले स्लोभेनिया, नाइजेरिया र थाइल्यान्ड तथा ‘टु’ ले आईएसएसओ भारत र ओमानको सामना गर्ने छ । त्यस्तै नेपाल ‘थ्री’ ले युगान्डा र बहराइन तथा ‘फोर’ ले चीन र भारतको अर्को टिम विरुद्ध प्रतिस्पर्धा गर्ने छ । तेक्वान्दो अक्टोबर २८ तारिखदेखि सुरु हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु