आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि दुई दिने कार्यशाला काठमाडौँमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक १२ गते, सोमबार ०७:५९

शर्मिला विश्वकर्मा, काठमाडौँ

राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल – (निडवान) ले महिलाहरूका निम्ति एसियाली प्रशान्त श्रोत तथा अनुसन्धान केन्द्र (The Asian – Pacific Resource and Research center for Women ) (ARROW) को सहयोगमा कात्तिक १० र ११ गते आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) र जलवायुले पारेको असर सम्बन्धी दुई दिने कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले यस २ दिने कार्यशालाको सफलताको शुभकामना व्यक्त गर्दै अपाङ्गता भएका व्यक्तिहरूको यौन तथा प्रजनन अधिकार सुनिश्चितका लागि सबै सरोकारवाला निकायहरूले काम गर्नु पर्ने भन्दै उनीहरूको हक अधिकारका लागि सबै एक जुट भएर काम गर्नु पर्ने बताउनु भयो ।

त्यसै गरी आयोजक संस्था राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ – (निडवान) का अध्यक्ष तथा पद्म कन्या क्याम्पसकी उपप्राध्यापक प्रतिमा गुरुङले सन् २०१५ मा जेनेभामा भएको सम्मेलनमा जलवायु परिवर्तनले अन्य अपाङ्गता भएका महिला र विशेष गरी आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूमा पर्ने प्रभावका विषयमा एजेन्डा प्रस्तुत गरेको र त्यसैका आधारमा अहिले काम गर्न सहज भएको बताउनु भयो । उहाँले आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) र जलवायुले पारेको असर सम्बन्धी बङ्गलादेश, फिलिपिन्स र नेपालमा अध्ययन गरेर यस विषयमा अन्तर्राष्ट्रिय स्तरमा पनि आवाज उठाउँदै आएको, आगामी नोभेम्बर १६ तारिकमा एसिया प्रशान्त क्षेत्रको उच्चस्तरीय मन्त्री स्तरको बैठकमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) र जलवायुले पारेको असर सम्बन्धी विषयलाई उठान गर्ने कुरामा जोड दिनु भयो । साथै आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरू विभेदमा परेको, जान्ने र सिक्ने अवसरबाट वञ्चित रहेको, यौन तथा प्रजनन स्वास्थ्य र जलवायु परिवर्तनले पार्ने असरहरूको विषयमा अनविज्ञ रहेकोले अबका दिनमा यस विषयमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा आयोजक संस्था निडवानकी एड्भोकेसी अफिसर भावना माझीले सबै सहभागीहरूलाई स्वागत गर्दै आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार र जलवायु परिवर्तनले पार्ने असरका विषयमा जानकारी गराउने, यस विषयमा वकालत तथा पैरवी गर्ने उद्देश्यले आदिवासी जनजाति अपाङ्गता भएका महिला तथा किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) र जलवायुले पारेको असर सम्बन्धी दुई दिने कार्यशालाको आयोजना गरिएको बताउनु भयो भने सचिव श्रुति कुमालले आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूले भौतिक संरचना, मानवीय संरचना, भाषाको अभाव, शिक्षा तथा जनचेतनाको कमीका कारण दोहोरो विभेदमा परेका र उक्त विभेदको अन्त्यका लागि सबै सरोकारवाला निकायहरूको साथ र सहयोगको आवश्यक रहेको बताउनु भयो ।

सो कार्यशालामा एसियाली प्रशान्त श्रोत तथा अनुसन्धान केन्द्र (The Asian – Pacific Resource and Research center for Women ) (ARROW का निर्देशक मेनुका गेर्डनले सबैले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा जानकारी गराउनु भयो । यसै क्रममा आदिवासी जनजाति अपाङ्गता भएका महिलाहरूका लागि पुर्यायउने असरहरूको निर्मुलिकरणका लागि काम गर्नु पर्ने बताउँदै यस कार्यक्रमको सफलताको कामना व्यक्त गर्दै यौन तथा प्रजनन स्वास्थ्य अधिकार, नेपालमा यसको अवस्थाका विषयमा र यसै संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत निका कास्टिल्लो Nica Castillo ले एसिया प्रशान्त क्षेत्रमा जलवायु परिवर्तन यौन तथा प्रजनन स्वास्थ्यमा पार्ने असरका विषयमा र एसियाली प्रशान्त श्रोत तथा अनुसन्धान केन्द्र (The Asian – Pacific Resource and Research center for Women ) (ARROW) नेपालमा कार्यरत कार्यक्रम अधिकृत PMEL संस्कृति श्रेष्ठले यौन र प्रजनन स्वास्थ्य अधिकारका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय उपकरणहरूका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

त्यसै गरी मर्यादित महिनावारीका वकालतकर्ता तथा राधा फउण्डेशनका संस्थापक राधा पौडेलले राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालले ( निडवान ) अध्ययन अनुसन्धान गरेर प्रकाशित गरेको आदिवासी महिला, किशोरी र अपाङ्गता भएका महिलाहरूका लागि सिड र आधारभूत सिफारिस नं ३५ – २०२२ नामक नेपाली बुक र Arrow को सहकार्यमा Amplifying Voices of Indigenous Women and Girls with Disabilities on the Nexus of Climate Change and Sexual and Reproductive Health and Rights (SRHR) जलवायु परिवर्तन र यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी आदिवासी जनजाति अपाङ्गता भएका किशोरीहरूको आवाज नामक पुस्तकमा उल्लेखित रिपोर्टले जनजाति मात्रै नभएर आम महिलाहरूका साथै आदिवासी जनजाति अपाङ्गता भएका व्यक्तिहरूको प्रजनन स्वास्थ्य अधिकारका विषयमा वकालत तथा पैरवी गर्न सहज हुने बताउनु भयो । यसै क्रममा उहाँले अब सबै जनाले महिनावारीको सवालमा पनि खुलेर वकालत तथा पैरवी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

सो कार्यशालामा सहभागी अपाङ्गता भएकी महिला अनु राईले युवा तथा ग्रामीण क्षेत्रमा जल बायु परिवर्तनले, असर गरेको पहिचान गरेर प्रत्यक्ष लाभदायक कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

त्यसै गरी मिथिला नगरपालिका ६ धनुषा अर्थात् मधेस प्रदेशकी शारीरिक अपाङ्गता भएकी महिला दीपिका लामाले मधेस प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको अवस्था ज्यादै नाजुक रहेको, यौन तथा प्रजनन स्वास्थ्यका विषयमा जानकारी नै नहुने, राज्य तथा स्थानीय निकायहरूले जलवायु परिवर्तन, यसले पार्ने असरका विषयमा जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिनु पर्ने बताउनु भयो ।

कार्यशालाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा, एसियाली प्रशान्त श्रोत तथा अनुसन्धान केन्द्र (The Asian – Pacific Resource and Research center for Women ) (ARROW का निर्देशक मेनुका गेर्डन, यसै संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत निका कास्टिल्लो Nica Castillo, अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धिताल, राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल – (निडवान) का सात वटै प्रदेशका अध्यक्षहरूले पानसमा दीप प्रज्वलन गरेर गर्नु भएको थियो भने
उक्त २ दिने कार्यशालामा ७ वटै प्रदेशका राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ – (निडवान ) का अध्यक्षहरू तथा अन्य कार्य समिति सदस्यहरूको सहभागिता रहेको थियो ।

अध्ययन अनुसन्धान गरेर प्रकाशित गरेको आदिवासी महिला, किशोरी र अपाङ्गता भएका महिलाहरूका लागि सिड र आधारभूत सिफारिस नं ३५ – २०२२ नामक नेपाली बुक र Arrow को सहकार्यमा Amplifying Voices of Indigenous Women and Girls with Disabilities on the Nexus of Climate Change and Sexual and Reproductive Health and Rights (SRHR) जलवायु परिवर्तन र यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सम्बन्धमा आदिवासी जनजाति अपाङ्गता भएका किशोरीहरूको आवाज नामक पुस्तकको विमोचन पनि गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु