उर्जामन्त्री खड्का र भारतका जलशक्तिमन्त्रीबीच भेटवार्ता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ कार्तिक २० गते, मंगलवार १४:१९

काठमाडौँ, २० कात्तिक । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका जल शक्तिमन्त्री सी आर पाटिलबीच भेटवार्ता भएको छ ।

भारतको नयाँदिल्लीस्थित जल शक्ति मन्त्रालयमा आज भएको दुई मन्त्रीबीचको भेटमा पञ्चेश्वर आयोजनालाई अगाडि बढाउने र बाढी नियन्त्रण, विकास र क्षमता अभिवृद्धिलगायत विविध पक्षमा छलफल भएको थियो ।

भेटमा उर्जामन्त्री खड्काले नेपाल र भारतबीच बाढी तथा विपद् व्यवस्थापन सम्बन्धी संयुक्त समितिको बैठक चाँडो बोलाउनुका साथै पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रुप दिन भारतलाई अनुरोध गर्नुभएको थियो । उर्जामन्त्री खड्काले टनकपुरदेखि नेपाल भारत सीमासम्म नहर निर्माण सम्पन्न भएकोमा भारत सरकारलाई धन्यवाद दिनुभयो ।

भेटमा भारतका जल शक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताउनुभएको मन्त्रीको भनाई उदृत गर्दै भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारीले जानकारी दिनुभयो ।

भारतीय मन्त्रीसँगको भेटमा नेपालका उर्जामन्त्री खड्कासँगै नेपाली प्रतिनिधीमण्डल तथा नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रतिनिधीको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु