राष्ट्रिय नेत्रहीन क्रिकेट टोली पाकिस्तानमा हुने T- 20 विश्व कप क्रिकेट प्रतियोगितामा सहभागी हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ३ गते, सोमबार ०८:३३

३ मंसिर २०८१ शर्मिला विश्वकर्मा, काठमाडौँ

राष्ट्रिय नेत्रहीन क्रिकेट टोली पाकिस्तानमा हुने T- 20 विश्व कप क्रिकेट प्रतियोगितामा सहभागी हुँदै छ । दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई क्रिकेट खेल मार्फत अगाडी बढाउने क्रममा नेत्रहीन क्रिकेट संघ नेपालले मंसिर २ गते काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि सञ्चार माध्यमको भूमिका विषयमा सञ्चारकर्मीहरूसँग गरिएको छलफलमा बताउँदै प्रेस विज्ञप्त उपलब्ध गराएको थियो ।

नेत्रहीन क्रिकेट संघ नेपालले वि.सं २०६३ सालमा स्थापना भएर ४ वटा विश्वकप प्रतियोगितामा पूरुषटोलीले सफलता पूर्वक सहभागिता जनाई सकेको छ । त्यसै गरी दृष्टिविहीन महिला क्रिकेट टोलीले पनि सन् २०१४ मा बेलायत र सन् २०१९ मा पाकिस्तानसँग मैत्रीपूर्ण दुवै प्रतियोगितामा जीत हासिल गरेको थियो ।

अपाङ्गता भएका व्यक्तिहरूले यसरी सफलता प्राप्त गर्दा, उक्त सफलताको लागि संघर्ष गरिरहँदा उनीहरूका खेलकुद वा अन्य सवालहरूलाई राष्ट्रिय स्तरका सञ्चार माध्यमहरूले प्राथमिकताका साथ समाचार, लेख रचनाहरू प्रकाशन वा प्रसारण नगरिदिएको महसुस गरी नेत्रहीन क्रिकेट संघ नेपालले मंसिर २ गते काठमाडौँमा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि सञ्चार माध्यमको भूमिका विषयमा सञ्चारकर्मीहरूसँग छलफल कार्यक्रमको आयोजना गर्योय ।

यस कार्यक्रममा बाग्मती खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदको विकासका लागि सबै एक जुट भएर अगाडी बढ्नु पर्ने, उनीहरूको खेलकुदको विकासको लागि आवश्यक र सक्दो सहयोग गर्ने भन्दै नोभेम्बर २२ देखि डिसेम्बर ३ तारिख सम्म पाकिस्तानमा हुने T- 20 विश्व कप क्रिकेटका लागि जाने खेलाडीहरूका लागि पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिहरूका सवाल तथा उनीहरूको खेलकुदका विषयमा सञ्चारकर्मीहरूसँग गरिएको छलफलमा आयोजक संस्था नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले अपाङ्गता भएका व्यक्तिहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल, यसको सुरुवातका विषयमा प्रस्तुतीकरण गर्नु भयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूका खेलकुदका सामाग्रीहरूलाई सञ्चार माध्यमहरूले प्रमुख प्राथमिकता दिएमा अपाङ्गता भएका व्यक्तिहरूका मुद्दामा सम्बन्धित निकायको ध्यान केन्द्रित हुने र खेलकुदको विकासमा, अपाङ्गता प्रति भएको पारिवारिक तथा सामाजिक विभेदको न्यूनीकरण हुनका लागि सहज हुने बताउनु भयो । साथै उहाँले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूका खेलकुद, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका अधिकारका विषयमा सञ्चार माध्यमहरूको प्राथमिकताका साथ समाचार प्रकाशन तथा प्रसारण गरिदिनु हुन आग्रह पनि गर्दै सञ्चार माध्यम मार्फत खेलाडीहरूको जीवनी, सङ्घर्ष, खेल आयोजनाका समाचारहरू तथा लेख रचनाहरू प्रकाशित तथा प्रसारण हुँदा समाजमा सकारात्मक प्रभाव पर्ने बताउनु भयो ।

साथै उहाँले नेपालबाट नोभेम्बर २२ देखि डिसेम्बर ३ तारिख सम्म विश्व नेत्रहीन क्रिकेट लिमिटेडको आयोजना तथा पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को स्थानीय व्यवस्थापनमा पाकिस्तानको लोहार र मुल्तानमा सञ्चालन हुने 4th Edition of T-20 World Cup Cricket of the Blind 2024 प्रतियोगितामा राष्ट्रिय नेत्रहीन क्रिकेट टोली सहभागी हुन लागेको पनि जानकारी गराउनु भयो ।

त्यसै गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अपाङ्गता महिला खेलाडी सरिता थुलुङ्गले खेलकुद अन्य नागरिकहरूका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि अति नै महत्त्वपूर्ण रहेको र अपाङ्गता भएका व्यक्तिहरूका खेलकुदका सवालहरूलाई विभिन्न सञ्चार माध्यमहरूले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरिदिएको खण्डमा अपाङ्गता प्रति सकारात्मक रूपमा जनचेतना जाग्ने, राज्यको ध्यानाकर्षण हुने बताउनु भयो । साथै उहाँले सञ्चार माध्यमहरूले आफ्नो सङ्घर्षको कथा प्रकाशन गरे पछि आफूले ह्वीलिचयर बास्केटबल, पौडी र भारोत्तोलन खेल खेल्दै आएको र जापान, सिङ्घापुर अमेरिका गएर अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता पनि सहभागी हुँदै ७ वटा स्वर्ण पदक ल्याउन सफल भएको बताउनु भयो ।

यस छलफलका क्रममा राष्ट्रिय समाचार समितिका सह – सम्पादक विक्रम गिरीले आफ्नो खेलकुदको पत्रकारिताको दौडानमा अपाङ्गता भएका व्यक्तिहरू खेलकुदका सामाग्रीहरूलाई आफू आबद्ध सञ्चार माध्यममा समावेश गर्दै आएको र आगामी दिनमा पनि उनीहरूका सवालहरूलाई प्राथमिकताका साथ स्थान दिने बताउनु भयो ।

त्यसै गरी विगत १५ वर्ष देखि अपाङ्गता क्षेत्रमा पत्रकारिता गर्दै आउनु भएकी तथा रेडियो सगरमाथामा कार्यरत सञ्चारकर्मी शर्मिला विश्वकर्माले सबै सञ्चार गृहहरू अपाङ्गता अनुकूलको बनाइनु पर्ने, सबै मिडिया हाउसहरूले कम्तीमा पनि एक जना अपाङ्गता भएका व्यक्तिलाई संवाददाता रूपमा काम गर्ने अवसर दिनु पर्ने, सञ्चारकर्मीहरूले अपाङ्गताका विषयमा राम्रो जानकार राख्नु पर्ने लगायतका विषयमा आफ्नो धारणा व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा इमेज एफ.एम.का स्टेसन म्यानेजर, इमेल च्यानल टेलिभिजनका समाचार संयोजक तथा नेपाल खेलकुद पत्रकार मञ्चका प्रथम उपाध्यक्ष निरञ्जन अधिकारीले आफ्नो २० वर्षे पत्रकारिताको दौरानमा अपाङ्गता भएका व्यक्तिहरूको खेलकुदलाई धेरै नजिकबाट नियाल्ने अवसर जुट्न नसकेको गुनासो गर्नु भयो । यसै क्रममा उहाँले पर्याप्त मात्रमा सञ्चार माध्यमको श्रोत साधन नहुँदा अपाङ्गता भएका व्यक्तिहरू खेलकुदका सवालहरू ओझेलमा परेको भएता पनि अबका दिनमा सम्बन्धित संघ संस्थाहरूसँग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिहरूका अन्य सवालका साथै खेलकुदका सवालहरूलाई पनि प्राथमिकताका साथ स्थान दिनु पर्ने कुरामा जोड दिनु भयो । साथै अपाङ्गता भएका खेलाडीहरूको पारा खेलकुदको लागि राज्यले लगानी गर्नु पर्ने, स्थानीय तहले नीतिगत रूपमा सञ्चालन गर्न सरकारलाई झकझक्याउनु पर्ने कुरामा जोड दिँदै आफ्नो तर्फबाट उनीहरूका समाचार, लेख रचना, सफलताका कथा, सङ्घर्षका कथाहरू तथा खेलकुदका सामाग्रीलाई आफ्नो सञ्चार माध्यम मार्फत प्रकाशन प्रसारण गर्ने बताउनु भयो ।

पाकिस्तानमा हुने T- 20 विश्व कप क्रिकेट प्रतियोगितामा राष्ट्रिय नेत्रहीन क्रिकेट टोलीका १५ जना खेलाडीहरू सहभागी हुने छन् । ती खेलाडीहरूमा रमेश बहादुर बानिया कप्तान, पदम बहादुर बडैला उपकप्तान, सुनिल सुवेदी क्षेत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, निश्चल सिवाकोटी, भरत थापा, प्रविन स्याङ्तान, मदन न्यौपाने, अमिश गुरागाईँ, सन्त पहरी, सुनिल राना मगर, नरेश चौधरी, पदम कार्की रहेका छन् भने नहेन्द्र निरौला प्रशिक्षक, तुन्बुरु उप्रेती टोली व्यवस्थापक, अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र बन्दोबस्ती व्यवस्थापक उपेन्द्र श्रेष्ठ पनि सहभागी हुनु हुने छ । उक्त T- 20 विश्व कप क्रिकेट प्रतियोगितामा नेपालले श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, दक्षिण अफ्रिका, पाकिस्तान र भारतसँग खेल्ने आयोजक संस्थाले जानकारी गराउनु भयो ।

सो छलफलमा संस्थाका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले सबैलाई स्वागत गर्दै यस खेलले दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको क्षमता, आत्मा विश्वास बढाउनुका साथै विश्वमा राष्ट्रलाई चिनाउने कार्य गरेको बताउनु भयो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी कान्तिपुरकर्मी सविना कार्कीले गर्नु भएको थियो ।

पाकिस्तानमा हुने T- 20 विश्व कप क्रिकेटका लागि क्रिकेट संघ नेपालले खेलकुद सामाग्री र खेल पोसाक, नेपाल राइनोज क्लबले सुजले जुत्ता,बाग्मती प्रदेश र CBM ग्लोबले क्रिकेट सामाग्री उपलब्ध गराएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु