काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्य बलियो नभए राष्ट्रसेवक बलियो हुन नसक्ने बताएका छन् । नेकपा एमालेनिकट स्थानीय तह कर्मचारी संघ नेपालले संघको तेस्रो कार्यसमितिको बैठकको समापनसँगै हालै राजधानीमा गरेको ‘स्थानीय तहको सेवा प्रवाहमा संगठनको भूमिका, कर्मचारीको सेवा,शर्त र सुविधामा एकरुपता’ विषयक गोष्ठीमा बोल्दै महासचिव पोखरेलले कर्मचारीलाई बिनास्वार्थ काममा लाग्न आग्रह गरे । महासचिव पोखरेलले तीन तहको सरकार भए पनि कर्मचारी व्यवस्थानमा समस्या देखिएको भन्दै स्थानीय तहका कर्मचारीलाई सरकारलाई सुझाव दिन र त्यसअनुसारको नीति, नियम बनाउन दवाव दिन पनि आग्रह गरे ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका पोखरेलले फटाई गर्ने कर्मचारीलाई रोक्ने र राम्रो काम गर्न प्रोत्साहन गर्ने कानुन बनाउनुपर्नेमा जोड दिए । ‘कर्मचारीले फटाई गर्छ त्यसलाई रोक्नुपर्छ भन्ने खालका कानुन बनेका छन् त्यो नै मुख्य समस्या हो’ उनले भने ‘ जे काम गर्दा पनि कुनै दोष आउँछ कि भनेर कर्मचारीलाई कामै गर्न नदिने गरी कानुन बनाइएको छ यसलाई सच्याउनुपर्छ ।’ महासचिव पोखरेलले स्थानीय तहका कर्मचारीहरु जनतासँग प्रत्यक्ष जोडिने भएकाले जनताको भावना अनुसारको काम गर्नुपर्ने बताए । ‘तपाइहरुका समस्या तपाइहरुलाई नै बढी थाहा छ त्यसैले पनि समाधानका उपाय निकाल्ने गरी सरकारलाई सुझाव दिनुहोला’ महासचिव पोखरेलले भने ।
गोष्ठीमा केही कार्यपत्र पनि प्रस्तुत गरिएका थिए । पूर्वसचिव यादव कोइरालाले कर्मचारीमा देखिएका समस्यासँगै समाधानका उपायबारे धारणा राखेका थिए । आयोजक संस्थाका अध्यक्ष नारायणप्रसाद शर्माले स्थानीय तहका कर्मचारीले राम्रो काम गरिरहेको भए पनि बुझाइमा समस्या भएकाले बेलामौका आलोचित हुनुपरेको बताए । ‘सेवा प्रवाहलाई कसरी सरल र व्यवस्थित बनाउन सकिन्छ भनेर अन्तरक्रिया गरेका हौं’ अध्यक्ष शर्माले भने ।
संघका महासचिव शम्भु बरालले संघले निरन्तर छलफल र संवाद गर्दै आएको बताए । ‘हामीमा पनि केही समस्या होलान् त्यो बेग्लै कुरा हो तर एउटा व्यक्ति वा संस्थालाई मात्रै दोष दिएर समस्याको निकास निस्किँदैन’ महासचिव बरालले भने ‘संघका आगामी कार्यक्रमका बारेमा छलफल गर्र्दै बिगतका कामको समीक्षा गरेका छौं ।’ कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा वागमति प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाल, पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यबहाक अध्यक्ष भोलानाथ पोखरेललगायतको उपस्थिति रहेको थियो ।