काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि जोरपाटीस्थित शंखडोल कराते एकेडेमीमा सुरु भएको छ ।
प्रशिक्षक प्रशिक्षणको गोकर्णेश्वर नगरपालिकाकी उप मेयर साननानी तामाङले एक कार्यक्रमबीच उद्घाटन गरिन् ।
प्रशिक्षणमा करिब १ सय ५० को सहभागिता रहेको आयोजक महासंघका अध्यक्ष ज्ञानबहादुर जिम्बाले जनाएका छन् । सहभागीलाई करातेका मुख्य प्रशिक्षक दीपक श्रेष्ठ, करातेका पूर्व मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठ, वरिष्ठ प्रशिक्षक राम लामाले प्रशिक्षण दिइ रहेका छन् । उनीहरुलाई काठमाडौं जिल्ला सितोरियो कराते संघका अध्यक्ष एवं शंखडोल कराते एकेडेमीका प्रमुख प्रशिक्षक शिवराम कारन्जितले सहयोग गरेका छन् ।
त्यस्तै सहभागीलाई सुलोचना सिजाख्वा र शिवराज भट्टले खुराक, स्पोर्ट्स साइकोलोजी र खेलकुद विज्ञान सम्बन्धी ज्ञान दिने छन् । प्रशिक्षण सोमबारसम्म चल्ने छ ।