सरस्वती क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व च्याम्पियनसिप खेल्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ मंसिर ८ गते, शनिबार १९:०१

काठमाडौं, मंसिर ८ गते । सरस्वती युथ क्लबले थ्री बाइ थ्री स्ट्रीट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ ।
‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्वीन्डहोमा यही मंसिर ११ देखि १६ गतेसम्म हुने च्याम्पियनसिप खेल्न लागेको हो ।
विश्व फुटबल महासंघ (फिफा) अन्तर्गत आईएसएफएले सञ्चालन गर्ने यस च्याम्पियनसिपमा आयोजक चीनसहित २४ देशको सहभागिता रहनेछ ।
चीन जाने टोलीलाई प्रदेश सभासद् सुनिल केसी, सरस्वती क्लबका अध्यक्ष उत्तम भण्डारी, क्लबका पूर्व अध्यक्ष बलराम ढकाल र सल्लाहकार अच्युत पराजुलीले बिदाइ गरे ।
सात सदस्यीय नेपाली टोली आइतबार चीन प्रस्थान गर्नेछ । टोलीको खेलाडीमा दिपेश घले, पेम्बा दोर्जे लामा, सतिश पराजुली, शुभांशु शर्मा र दिभांसु शर्मा छन् । प्रशिक्षकमा अशिम अर्याल र ब्यवस्थापकमा विकल्प खरेल रहेका छन् ।
एपाधि जित्ने लक्ष्यका साथ दुई महिनादेखि निरन्तर तयारी गरेको प्रशिक्षक अशिम अर्यालले जानकारी दिए । ‘स्ट्रीट विश्व च्याम्पियनसिपका लागि हामी उपाधि दावेदार हौँ । राम्रो तयारी गरेकोले उपाधि जितेर फर्कने लक्ष्य राखेका छौं’, अर्यालले भने ।
प्रशिक्षक अर्यालका अनुसार फुटसल भन्दा सानो कोर्टमा खेलिने थ्री बाइ थ्री फुटबल आठ मिनेटको हुनेछ ।
खेलाडीलाई शुभकामना दिँदै सरस्वती क्लबका अध्यक्ष भण्डारीले क्लबले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लागेको बताए । उनले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै क्लब र देशको नाम राखेर फर्कन सुझाव पनि दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु