
काठमाडौं । बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका १० वटा सरकारी विद्यालय विद्यार्थी संख्या न्यून भएपछि बन्द गरिएका छन् । विद्यार्थी नै व्यापक कम हुदैगएपछि विद्यालय चलाउनुको औचित्य नभएको भन्दै नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छ भने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन गरेको जनाएको छ ।
यसरी विद्यालय विद्यार्थी अभावका कारण धमाधम बन्द गर्नुपरेको अरु कुनै कारण नभइकन बढ्दो बसाइँसराइ हो। गत केही बर्षयता बढ्दो बसाइँसराइ भएर काठमाडौं लगायत अन्यत्र जिल्लामा अभिभावकसंगै विद्यार्थीहरु पनि गएपछि यस्तो समस्या आएको जैमिनी नगरपालिकाले भनेको छ।
नगरपालिकाका उपमेयर हरिहर शर्माका अनुसार, पाँच विद्यालयका शिक्षक दरबन्दी अन्यत्र मिलान गरिएको छ । पाँच विद्यालयमा एकजना मात्रै दरबन्दी कायम गरिएको छ । नगरपालिकाले विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्यान्वयन निर्देशिका २०८० अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुनेगरी पाँचवटा विद्यालय समायोजन गर्ने निर्णय गरेको छ ।
विद्यार्थी नभएका विद्यालयमा दरबन्दी रहने र विद्यार्थी धेरै भएको स्थानमा शिक्षक अभाव हुने अवस्थाको अन्त्य गर्न समायोजन गरिएको छ । तत्काल बन्द भएका विद्यालय प्राथमिक तहका हुन् । चार जना भन्दा थोरै विद्यार्थी भएका पाँच प्राथमिक विद्यालय बन्द गरेर ११ शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गरिएको छ ।
बन्द गरिएका विद्यालयमा जनज्योति प्रावि, जनभावना प्रावि दमेक, टारा ज्योति प्रावि छिस्ती, क्वाङ्गदी प्रावि, छिस्ती र सर्वोदय प्रावि सकुर्वा रहेका छन् । जसमध्ये सर्वोदय प्रावि र टारा ज्योति प्रावि छिस्तीमा विद्यार्थी संख्या शून्य थियो । अन्य तीन विद्यालयमा विद्यार्थी संख्या चारजना भन्दा कम भएपछि विद्यालय बन्द गरी समायोजन गरिएको हो ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०८१ मंसिर २३ गते आइतवार ।


