
काठमाडौं। देशका उच्च पहाडी तथा हिमाली भू–भागमा सोमबार बिहानैदेखि हिमपात भएको छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा चिसो बढेसँगै हिमपात भएको हो। हिमपातपछि हिमाली क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ। वर्षासँगै भएको हिमपातले बालीनालीलाई भने फाइदा पुर्याएको छ। आइतबारदेखि मौसममा आएको परिवर्तनपछि सोमबार बिहान हिमाली जिल्लाहरूमा हिमपात भएको हो । दार्चुला, अछाम, बझाङ, हुम्ला, डोटी लगायतका जिल्लामा यो वर्षको पहिलोपटक हिमपात भएको हो।


