प्रकाश कुइँकेलको बगर भयो जिन्दगी
—————————–
–श्याम स्मृत
ललितपुर । कालजयी गीत रंगियो सिंउदोका गीतकार प्रकाश कुइँकेलको पछिल्लो अमर गीत ‘मृगतृष्णा भयो जीवन कहाँ देखुँ कहाँ भेटुँ तिम्रो नाम बगरभरि कति लेखुँ कति मेटुँ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। नेपाली आधुनिक संगीतको आकाशमा टल्किरहेको मोति नै मानिएका संगीतकार राजु सिंहको संगीत तथा स्वरुपराज आचार्यको स्वरमा रहेको उक्त गीतको लिरिकल भिडियो एशियन म्युजिक मार्फत विश्वव्यापी युट्युब च्यानलवाट सार्वजनिक भएको छ।
यो गीत गीतकार कुइँकेलको जीवनमा घटेको यथार्थपरक घटनामा आधारित रहेको छ । विसं.२०६६ साल मंसिर महिनाकै समयमा गीतकार कुइँकेलको जीवन संगीनी अञ्जु कुइँकेलको दुःखद निधन भएको थियो। पत्नी वियोगमा गीतकार कुइँकेले यो गीत लेख्दा धेरैपल्ट सिरानी भिजाएका छन् । कयौँ रात गीतको अन्तरा पूरा गर्ने क्रममा आफै भक्कानिएर उनी रोएका छन् । पत्नी वियोगपछि सिर्जना भएको गीत भएर पनि होला–उनलाई यो गीत अमर पुत्र जस्तो बनेको छ ।
आफूलाईभन्दा बढी माया गर्ने जीवन संगीनी अञ्जुले यो संसारलाई छाडेर गएको त्यो दिनलाई अझैपनि सम्झने कार्य गीतकार कुइँकेलवाट भएको छ। जीवन संगीनी वितेर गएको पनि १५ बर्ष पूरा भएर १६ बर्ष पुगेको बार्षिकीमा पत्नीकै सम्झनामा ‘मृगतृष्णा भयो जीवन कहाँ देखुँ कहाँ भेटुँ तिम्रो नाम बगरभरि कति लेखुँ कति मेटुँ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेर अमर प्रेमको परिचय दिने कार्य गीतकार कुइँकेलवाट भएको छ। पत्नीको देहान्त पछिको १५ बर्ष लामो जीवन एकल जीवन विताउनुको पिडा गीतकार कुइँकेलले हररात सिरानी भिजाएरै भएपनि विताएका छन्। बाँचुञ्जेल यसरी नै विताउने प्रतिबद्धता कुइँकेलको छ।
केही महिनाअघि मात्र नेपाल वाहिर थाइल्याण्ड र दुबईमा अन्तरराष्ट्रिय दीर्घ सम्मान पाउंदा गीतकार कुइँकेलले थाइल्याण्डको पताया स्थित समुद्र किनार तथा दुबईको मरुभूमिमा समेत स्वर्गवासी जीवन संगीनीलाई सम्झेर धेरैपल्ट नाम कोरेर व्यापक सम्झने कार्य गरेका थिए। त्यससमयमा उनी धेरैपल्ट भक्कानिएका पनि थिए।
बाउन्न बर्षअघि लामो प्रेम संवन्ध पछि विवाह बन्धनमा बाँधिएका उनी त्यो आफ्नो प्रेमलाई अमर बनाउन पनि दोश्रो विवाहको धेरै अफर आएर पनि नगरेको भन्छन्। दुई छोरा र एक छोरीका जिम्मेवार पिता प्रकाश कुइँकेल छोरा–छोरीमा नै आफूले आफ्नो जीवन संगीनीको छायाँ पाउने गरेको तथा यसैमा चित्त बुझाउंदै आएको सुनाउंछन्।
यसैवीच गीतकार कुइँकेलले पिता कृष्णप्रसाद कुईंकेल र माता मेनकादेवी कुईंकेलको स्मृतिमा कृष्ण–मेनका स्मृति कोषको स्थापना गरेका छन्। यस कोष मार्फत चावहिल निवास स्थित शानित गोरेटो टोलसुधार समितिको विकास एवम् सुधारका लागि प्रत्येक बर्ष नगद २५ हजार सहयोग गर्ने गरी यो बर्षको सहयोग समितिलाई हस्तान्तरण गर्ने कार्य पनि गीतकार कुइँकेलवाट भएको छ। उनी एकल व्यक्तित्व समाज नेपालका आजीवन सदस्य समेत हुन्।