दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राम के.ए.सी.को निर्देशनमा अर्को नाटक “कोही किन बरबाद होस्” मञ्चन सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ पुष ९ गते, मंगलवार ८:३८

काठमाडौं ।सद्भाव थिएटरले समाजमा सकारात्मक परिवर्तनको उद्देश्यले नेपाली साहित्यका प्रतिष्ठित नाटककार विजय मल्लद्वारा लिखित नाटक “कोही किन बरबाद होस्” मञ्चन गर्न थालेको छ। यस नाटकलाई रङ्गकर्मी राम के.ए.सी.ले निर्देशन गरेका छन्।

नाटकले बालमनोविज्ञानजस्तो संवेदनशील विषयलाई उजागर गर्दै व्यक्ति, समाज र देशको सभ्यता तथा समृद्धिमा यसको भूमिका कस्तो रहन्छ भन्ने विषयमा गहन संदेश दिन्छ। यसले मानिसका विचार, निर्णय र कार्यले व्यक्तिगत तथा सामाजिक जीवनमा पार्ने प्रभावलाई नजिकबाट प्रस्तुत गर्दछ।

यो नाटक सद्भाव थिएटरको “शिक्षाका लागि रङ्गमञ्च” अभियान अन्तर्गत पिक प्वाइन्ट एडुकेशन नेटवर्कको सहकार्यमा मञ्चन गरिएको हो। अभियानको उद्देश्य विद्यार्थीहरूलाई पाठ्यपुस्तक ज्ञानभन्दा पर व्यवहारिक शिक्षा र नैतिक मूल्यबारे जागरुक गराउनु हो।

नाटकमा पिक प्वाइन्ट एडुकेशन नेटवर्कका विद्यार्थी कलाकारहरूले जीवन्त अभिनयमार्फत पात्रहरूको मनोवैज्ञानिक र सामाजिक पक्षलाई गहिरो रूपमा प्रस्तुत गरेका छन्। विजय मल्लको मौलिक लेखन र राम के.ए.सी.को कुशल निर्देशनले यो नाटकलाई थप प्रभावशाली बनाएको छ।

पिक प्वाइन्टका संस्थापक/प्रिन्सिपल विनय श्रेष्ठका अनुसार, नाटकले मनोरञ्जन मात्र होइन, दर्शकहरूलाई समाजमा जिम्मेवार भूमिका निर्वाह गर्न पनि प्रेरित गर्ने अपेक्षा राखिएको छ।

नाटकमा अभिनय गर्ने कलाकारहरूमा यमलाल गोले, सलिम श्रेष्ठ, सेसेमी इजम, समर श्रेष्ठ, आशिष सापकोटा, आइरिस श्रेष्ठ, सामना थापा, अनिशा लामा, आशा श्रेष्ठ, अरूणा श्रेष्ठ, आशिका भण्डारी, मनिषा तामाङ, सिम्रीका गुरुङ, ऋतु अधिकारी र मेलिना गौतम छन्।

सद्भाव थिएटरले यसअघि पुस ०३ गतेदेखि ०६ गतेसम्म राम के.ए.सी.को लेखन र निर्देशनमा नाटक “यशस्वी भव:” मञ्चन गरेको थियो । त्यसको लगतै विजय मल्लको लेखन तथा राम के.ए.सी.कै निर्देशनमा नाटक “कोही किन बरबाद होस्” पनि मञ्चन ल्याएको हो। यी नाटकहरूको उद्देश्य शैक्षिक अभियानलाई सशक्त बनाउँदै नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउनु हो।

२०८१ पुस ८ गते सोमबारदेखि शिल्पशाला कुञ्ज नाटकघर, थापागाउँ, नयाँ बानेश्वरमा प्रदर्शन सुरु भएको नाटक पुस ११ गतेसम्म हरेक दिन बिहान ११:०० बजे र दिउँसो १:३० बजे मञ्चन हुनेछ।

सद्भावको यो अभियानले नेपाली समाजमा शैक्षिक तथा सामाजिक परिवर्तन ल्याउने विश्वास पिक प्वाइन्ट पब्लिक स्कुलका प्रिन्सिपल ईश्वर के.सी.ले व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु