
भक्तपुर । छब्बीस वर्ष पछि लिच्छवीकालिन नगरी मध्यपुर थिमिमा दोश्रो मध्यपुर महोत्सव–२०८१ शुभारम्भ भएको छ। शुक्रवारवाट आइतवारसम्म तीन दिन महाउत्सवको रुपमा चल्ने मध्यपुर महोत्सव–२०८१ को शुभारम्भ भएको हो । मध्यपुर थिमि नगरपालिका वडा नंबर ५ स्थित बालकुमारीमा नेपालका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरेपछि महोत्सव शुभारम्भ भएको हो ।
मध्यपुरथिमिका मूर्तअमूर्त सम्पदाहरुको संरक्षण गर्ने, पर्यटक भित्र्याएर देखाउने, यस ठाउँलाई चिनाउने र नयाँ पिँढीलाई सिकाउनुपर्ने औँल्याउँदै उपप्रधानमन्त्री सिंहले मध्यपुर महोत्सवले मध्यपुरथिमिको मात्रै नभई देशकै आर्थिक अवस्था उकास्ने बताए । सो अवसरमा उपप्रधानमन्त्री सिंहले नगरपालिकाले प्रकाशन गरेको राससकर्मी रत्नकृष्ण श्रेष्ठको फोटो पुस्तक ‘हाम्रो मध्यपुरथिमि’को विमोचन गरेका थिए ।कार्यक्रममा सङ्घीय सांसदद्वय दुर्लभ थापा र सन्तोष परियार, बागमती प्रदेश सदस्य राजेन्द्रमान श्रेष्ठ, नगरपालिकाका उपमेयर विजयकृष्ण श्रेष्ठलगायतले मध्यपुर महोत्सव सबैको महोत्सव भएकाले यसलाई सफल पार्न सबैको उत्तकै सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा सभापति एवं मेयर सुरेन्द्र श्रेष्ठले मध्यपुरको सम्पदाको संरक्षण, पर्यटन र आर्थिक विकासमा टेवा पुग्नेगरी नगरपालिकाले आयोजना गरेको महोत्सवमा पाँच सयभन्दा बढी स्टलहरु रहेको बताए । उनले महोत्सवभरि २५ ठाउँमा सांस्कृतिक नाच, ४५ पाटीपौवामा प्रत्यक्ष रुपमा दाफा भजनको प्रस्तुति, २५ ठाउँमा विभिन्न संस्कृति समेटेको बाजा प्रदर्शनी, चपाचोमा माटोको भाँडाको प्रदर्शनी, १६ ठाउँमा माटोको भाँडा बनाउँदै गरेको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिने, एक सय पाँच ठाउँमा स्थानीय घरेलु उत्पादन र हस्तकलाका सामग्रीहरु, ५० ठाउँमा स्थानीय परिकारहरु तीन ठाउँमा एैला (रक्सी) उत्पादन र एक ठाउँमा नेवाः भ्वय अर्थात् नेवारी भोजको प्रदर्शनी राखिएको बताए। त्यसको अलावा
विभिन्न ठाउँमा भैल, नीलबाराही नाच, जिब्रो छेड्ने जात्रा, व्रतबन्ध र बेलविवाहको डमी प्रदर्शन गर्नाका साथै विभिन्न जात्रा, पर्व, सम्पदालगायतका फोटो प्रदर्शनी गरिएको छ ।
महोत्सवमा ५५ थरीका गेडागुडी, जन्मदेखि मृत्युसंस्कारसम्म आवश्यक पर्ने भ्वयः ९भोज०का परिकारको प्रदर्शनी, किरात, लिच्छवी, मल्लकालीन मुद्राहरुको प्रदर्शनी, एक सय ५३ देशका मुद्राको प्रदर्शनी लायकु दरबारमा राखिएको, लायकुमै यहाँका विभिन्न जात्रामा प्रयोग गरिने खटहरुको प्रदर्शनी गरिएको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले नगदेशमा तरकारी प्रदर्शनी, टिगनीमा चिउरा उत्पादन र प्रदर्शनी, परम्परागत देल, शैक्षिक एवं पुस्तक प्रदर्शनीसमेत रहेको बताए।
शङ्खधर चोकको मध्यपुर छिर्ने गेटदेखि बालकुमारी, दुईपोखरी, चपाचो, नगदेश, बोडे हुँदै नीलबाराही टिगनीसम्मका चोक, गल्ली, घरघरमा महोत्सवका विभिन्न दृश्यहरु देख्न सकिने भन्दै उनले सिङ्गो मध्यपुरथिमिका पुराना बस्तीहरु महोत्सवमय बनेको मेयर श्रेष्ठको भनाई छ। छब्बीस वर्ष अगाडिको प्रथम मध्यपुर महोत्सव तत्कालीन युवराजधिराज दीपेन्द्र वीर विक्रम शाहले उद्घाटन गरेको थिए। छब्बीस वर्ष पछि भएको मध्यपुर महोत्सवले ऐतिहासिकता तथा गौरबतालाई कायमै राख्ने विश्वास गरिएको छ।


