
काठमाडौं। नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई बलियो तुल्याउने उद्देश्यले आगामी विहीबार ‘चाइना फिल्म डे’को पहिलो संस्करण आयोजना हुँदैछ।
चाइना फिल्म एडमिनिस्ट्रेसन, चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले कार्यक्रम आयोजना गर्न लागेका हुन्।
क्यूएफएक्सको छाया सेन्टरमा आयोजना हुने कार्यक्रममा ३ चिनियाँ फिल्म प्रदर्शन हुने तय छन्। जसमा यीहुई साओ निर्देशित ‘हर स्टोरी’ ओपनिङ फिल्मको रुपमा छ।
युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन हुने तय भएको छ। फिल्म स्क्रिनिङपछि निर्माता, निर्देशक र कलाकारले दर्शकसँग अन्तक्रिया गर्नेछन्। समारोहको प्रमुख अतिथिको रुपमा पूर्वअर्थमन्त्री वर्षमान पुन हुने जनाइएको छ।
प्रदर्शन हुने फिल्मका निर्माता, निर्देशक र कलाकार गरि १४ जनाको चिनियाँ भ्रमण टोलीको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङ ले गर्ने छन। यस कार्यक्रमले दुवै देशका फिल्मकर्मीबीचको सहकार्यलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।
आयोजकमध्येको नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम दुई मुलुकको जीवन्त संस्कृतिलाई जोड्ने पुल हुने बताए।
‘यो केवल फिल्म प्रदर्शन गर्ने कार्यक्रम मात्र होइन, दुई जीवन्त संस्कृतिलाई जोड्ने पुल हो’ उनले भने, ‘चिनियाँ फिल्मको सिर्जनशीलता र गहिराई प्रस्तुत गरेर, हामी नेपाली फिल्मकर्मीलाई सिक्न, सहकार्य गर्न र आफ्नो क्षितिज फराकिलो बनाउन अवसर प्रदान गर्दैछौं।’
प्रकाशन मिति–२०८१ साल पुस ४ गते शनिवार ।


