काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार विगत केही दिनदेखि तराईका धेरै स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लागेको र केही स्थानमा दिउँसोसमेत घाम नलागेका कारण तापक्रम घट्न गई चिसो बढेको छ।
चिसोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको भन्दै यसका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सावधानीका उपायहरू तथा सतर्कता अपनाउन अनुरोध महाशाखाले गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले हुस्सु कुहिरो नियमित अनुगमनसँगै दैनिक बुलेटिन जारी गरिरहेको जनाएको छ ।
आज काठमाडौँसहित मुलुकका अधिकांश स्थानमा मौसम बदली हुँदा हवाई उडानसमेत प्रभावित भइरहेको छ । भोलि र पर्सी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहनुका साथै तराईमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी र उच्च हिमाली क्षेत्रका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् लामिछानेले जानकारी दिए ।