काठमाडौँ, ४ माघ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले गरिब तथा विपन्न वर्गलाई उर्जाको विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) नेपालको २५ औँ रजत जयन्तीको उद्घाटन सत्रमा आज सम्बोधन गर्दै उर्जामन्त्री खड्काले जलविद्युत केन्द्रको शेयर विना धितो प्रभावित क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दिने प्रबन्ध सरकारले मिलाउन लागेको बताउनुभएको हो ।
“अहिले हुनेखाने वर्गले मात्र जलविद्युत केन्द्रमा शेयर हालिरहेको अवस्था छ, सरकारले प्रभावित क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी विना धितो शेयरको व्यवस्था गर्न लागेको हो,”– मन्त्री खड्काले भन्नुभयो । मन्त्री खड्काले उत्पादित विद्युतको बजार सुनिश्चित रहेकाले उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
उहाँले अहिले दुई ठूला राजनीतिक दल मिलेर बलियो सरकार बनेकाले यो सरकारलाई अल्मलिएर बस्ने छुट नभएको उल्लेख गर्नुभयो । मन्त्री खड्काले हिजोको दिनमा जलविद्युत क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा धेरै समय लाग्ने गरेपनि अहिले अधिकाशं जलविद्युत केन्द्रमा मोटरबाटोको पहुँच पुगेकाले काम गर्न थप सहज भएको बताउनुभयो ।
उहाँले भर्खरै मन्त्रीपरिषद्ले उर्जा विकास मार्गचित्र–२०८१ संसदबाट पारित गरिसकेकाले उक्त मार्गचित्रको कार्यान्वयनका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । निजी क्षेत्रको समस्या सरकारले राम्रोसँग बुझेको मन्त्री खड्काको भनाई थियो ।
मन्त्री खड्काले उर्जा उत्पादनका क्रममा देखिएका नितीगत समस्या समाधान गर्दै सरकार अगाडि बढ्नेसमेत स्पष्ट पार्नुभयो । उहाँले यसअघि उर्जा उत्पादनको जिम्मामात्र निजी क्षेत्रलाई दिएको भएपनि हाल प्रसारण लाईनसमेत निजी क्षेत्रले बनाउन पाउने व्यवस्था गरिएको बताउनुभयो । विद्युतको आन्तरिक खपतलाई सरकारले पहिलो प्राथमिकतामा राखेको मन्त्री खड्काको भनाई थियो ।
इप्पानका अध्यक्ष गणेश कार्कीले उर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्बाट भर्खरै स्वीकृत भएको उर्जा विकास मार्गचित्र २०८१ नेपालको उर्जा क्षेत्रको विकासका लागि ऐतिहासिक भएको उल्लेख गर्नुभयो । उर्जा क्षेत्रको विकासमा देखिने समस्यालाई सरकारले समाधान गरिदिएको खण्डमा सरकारले राखेको लक्ष्य पुरा गर्न केही कठिनाई नहुने अध्यक्ष कार्कीको भनाई थियो ।
उक्त रजत जयन्ती समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।