–सचिन्द्र श्रेष्ठ
अघिल्लो महिना रबिन शर्माले लेखेका ‘देउता बनाऊने कारखाना’ कविता सङ्ग्रह कबि भाई दिप सागर मार्फ़त प्राप्त गरे। गद्यमा लेखिएको यस कविता सङ्ग्रह पढेर अलि भिन्दै केहि फरक अनुभव मलाई लाग्यो।
हाम्रो नेपाली वाङ्गमयमा गद्य कविताका प्रथम कबि एबं सफल साहित्यकार गोपालप्रसाद रिमालले जनताका तत्कालीन भावना र चाहनालाई कवितामा छर्लंङ्ग उतारदै भनेका छन -‘लय चाहियो, पद्यमा होस् गद्यमा होस् । गद्यमा शब्दहरुको लयभन्दा बढी अर्थको लय हुन्छ ।’ सोहि अंश मलाई रबिन शर्माको यी कबितामा भएको आभास हुन्छ।
यस छोटो आलेखमा कवि रबिन शर्माको कविता सङ्ग्रह भित्रका गद्य कविताले अहिलेको र उहिलेको समाजको प्रतिबिम्बमा कबिताले ओगटेको विचारका बिम्बहरुलाई यहाँ चर्चा गर्ने जमर्को गरिएको हो ।
कुल ३९ फुटकर कबिता संग्रहीत ”देउता बनाउने कारखाना ”कबिता संग्रह यसैको उपज हो।देश बिदेस भोगेका आफ्ना मनका बाडुल्कीहरुलाई एउटा संग्रहनै बनाएर पाठक समक्ष ल्याउन सफल छन।
परदेस बसेर पनि नेपाली साहित्यमा यस्तो रूचि हुनु ठुलो कुरा हो,परदेसमा समय निकालेर आफ्नो प्रतिभा प्रस्फुटन गर्नु चानचुने पक्कै होइन ।कामको ब्यस्तता ,बिदेशको नियम कानुन सँग ऐंठेजोरी गर्दै साहित्यलाई अगाडि बढाई अनेसासको केन्द्रीय सचिब सम्म बनेका कबि हुन रबिन शर्मा।
अहिले हरेक घरका एक जना ब्यक्ति परदेसी भूमिमा आफ्नो सपनाको लिलामि र घर ऋण परिवारको बाध्यता चिर्न परदेस लागेका सबै हामी नेपालीलाई मन छुने खालको कबिता ‘माथि माथि उडेका सपना’ले दर्शाउछ।उनका कबिताले देश परदेसको पीडा बोलेको छ।
तन जहा भए पनि हाम्रो मन मस्तिष्क हरेक क्षण आफ्नो देश धर्ति मातालाईनै सम्झेको कबिका संग्रहित कबितामा धेरै पल्ट भोगाई देखिएको प्रस्ट हुन्छ।उनका हरेक कबिताका हरफले बिदेसका गगन चुम्बी घर होस् या एसआराम भन्दा आफ्नो देशको माया ममताले भरिएको पाइन्छ।
‘साकुराको देश बाट’ ,’साकुरा’,’सपनामा’ होस् या ‘सेकेण्ड सुई’ यी सबै कबितामा लेखिएका हरफले देश प्रेम मज्जाले झल्काउछ।एउटा कबिताको अंशमा कबिले भनेका छन-
मेरो पनि अन्तिम गन्तब्य
पर्बतको चुवा गाउँनै हो
आँखा उघादाँ पो
यी आँखाले
ओसाका देख्छन
टोकियो देख्छन…
‘आमा,म घर फर्के’ शिर्षकको पहिलो कवितामा आमाप्रतिको सामीप्यता र परदेस जानु पर्ने बाध्यताका सीढ़ीहरु गहिरिएर पोखिएको पाइन्छ।आमा,बा परिवारको सुख शान्ति र सुरक्षाको अनुभूती यो कवितामा कविभित्रको मातृत्व पोखिएको छ।
‘तीन पुस्ता र कर्म’कविता एउटा सशक्त बिम्ब प्रयोग गरिएको कविता मलाई लाग्छ।साहूको ऋणको भारी र छोराको कर्तब्यलाई बिम्ब मार्फत कबिले आफुलाई नै कबितामा उतारेका छन।
‘देउता बनाउने कारखाना’ प्रशस्त उपमा अलङ्कार प्रयोग गरिएको कविता हो।यस कवितामा कवि उसैगरी आफ्ना मनका पीडा ,आक्रोश लाग्छ जसरी जिन्दगीसँग उनले धेरैनै ठक्कर खाएर क्रान्तिकारी विचार पोखिएको देखिन्छ।
‘आराध्याको पहिलो दशै’ आफ्नो छोरीको खुसी, चाहना ,रहरको बाछिटालाई आउने पिडीलाई समेत थाहा हुने गरी कबिले छोरी प्रतिको मायालाई पोखेका छन।
‘पत्थरको दिल’ नामक कबिताले विस्मृत हुन नसकेका पलहरुको पुनरावृत्ति ताजा हुनुले आफ्नो मस्तिस्कमा आएको देखिन्छ।प्रेम बिछोड र सपनामा समेत उही मायालुको सम्झना आई रहने भावलाई कबिता मार्फत आफ्नो प्रेम पोखेका छन।’प्रणय ,परदेस र प्रतिक्षा’कबिता समेत यही माया बिछोडको संगम हो भनेर फरक नपर्ला।
‘बचपन’मा हामी कस्ता खाल्का हुन्छौ ,न केहि चिन्ता, न केहि जिम्मेवारी मात्र रमाइलो गर्ने डुलने हिड्ने खाने काम! कविले आफ्ना मनका कलिला चाहनालाई कबिता बाट बोलेका छन।
लैंगिक बिभेद, निराशावादी सोच,देशमा मौलाउँदै गरेको भ्रस्टाचार,नेता प्रति जनताको साँघुरो सोचलाई ‘सरकारलाई प्रश्न’कबिताले तीखो र यथार्थ ब्यङ्ग गरेका छन।
राष्ट्रप्रेमले ओतप्रोत भएका केहि कविताहरु’गुरु आमा नेपाल’,’देश या ‘चौतारी’यही देशको माटो बोलेको छ।
‘सिन्दूर’ भन्ने बितिकै नारीवादी देखिन्छ।बिबाह गरेको भोली पल्टै पति पत्नी छाडेर परदेस जादा त्यस पत्नी लाई कस्तो भान होला जो कहिले पनि सहज बुझ्न सक्छ। सदियौंदेखि सनातनी बनेर जरा गाडेको पुरुषवादी सोचले महिलाहरु बन्धक भएका छन त्यस आवाजलाई यस कविताले बुलन्द पारेको छ।
राष्ट्र र राष्ट्रियताप्रति हाम्रा नेपाली दाजु भाई बिदेसमा बीरताको गाथा बोकेका र कहिल्यै दुश्मन सामु नहारेका हामी नेपालीको शिर सदा ठाडो बनाउन सफल यस कबिता ‘लडाईमा लाहुरेको गीत’ले आक्रोस पोखेको छ।
अन्त्यमा यस कविताका माध्यमबाट कवि सामाजिक,आर्थिक र ब्यबहारिक चेतनाको विकास गर्न चाहन्छन्। कविताको भाषाशैली सरल र सहज देखिन्छ। जोसुकै पाठक कविता पढ्न सक्दछन्।कही अलि अलि कबिता केहि अशुद्ध होकि भन्ने पनि सरसती पढ्दा भान हुन्छ।
सामाजिक बिषय विसङ्गतिलाई सूक्ष्म रुपमा चित्रण गरिएको छ| आयामका दृष्टिले छोटा, रसका दृष्टिले कोमल र शब्दशक्तिका दृष्टिले व्यङ्ग्यार्थक कविता यस सङ्ग्रहमा पढ्न पाइन्छ। प्रत्येक कबिताका छुट्टाछुट्टै बिम्ब सन्देश दिएको छ।अर्को कुरा उनको कवितामा विविधता हुँदाहुँदै पनि विषय कही कतै नदोहोरि पढदा पढ्दै सकिएको थाहानै हुँदैन।
कविले आफूलाई सचेत जागरूक युवाकविका रुपमा पहिलो कृति मार्फत उभ्याउँदै सामाजिक कु- संस्कार, लैङ्गिक बिभेद,दण्डहीनता,प्रकृति प्रेमी र जबर्जस्ती लादिएका दबीएका सनातनी मूल्य मान्यता सोचको विरोधमा बहस गरेका छन्।