बगाले थापा क्षेत्रीहरूको कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ माघ २७ गते, आईतवार ०५:५२

धादिङ ।बगाले थापा क्षेत्रीहरूको ऐतिहासिक कुलपूजा यही २०८१ फागुन २३ गते, शुक्रबार, शुक्लअष्टमी को शुभविवाहको लगनमा भव्य रूपमा सम्पन्न गरिने तयारी भइरहेको छ। “शक्तिको प्रतीक पितृ र कूलदेवता, वंश एकता आजको आवश्यकता” भन्ने मूल नारासहित, त्रिपुरासुन्दरी गाउँपालिका–३, मुलपानी मुर्चोक, धादिङमा आयोजना हुने यो १४०औं बगाले थापा राष्ट्रिय कुलपूजा ऐतिहासिक एवं सांस्कृतिक रूपमा विशेष महत्त्व राख्छ।

इतिहासअनुसार, बगाले थापाहरू नेपाल एकीकरणअघि विभिन्न भूखण्डका राजा थिए। राष्ट्रिय एकता र अखण्डताका लागि बगाले थापाका पुर्खाहरूले महत्वपूर्ण योगदान दिएका थिए। तर, दरबारभित्रको कलह, षड्यन्त्र, र बाह्य शक्तिको प्रभावका कारण उनीहरूलाई झुट्टा मुद्दा लगाइयो। वि.सं. १८९६ मा मुख्तियार जनरल भीमसेन थापाको दु:खद अवसान र वि.सं. १९०२ मा नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापाको हत्या यसै षड्यन्त्रको परिणाम थियो। यस घटनापछि बगाले थापाहरू व्यापक दमनमा परे, कतिपयले आफ्नो गोत्र र थर परिवर्तन गरी ज्यान जोगाउनुपर्‍यो।

बगाले थापाका आदि कुलपुरुष सन्त महाराज कालु बगाले थापाले वि.सं. १२१५ मा डोटीमा कुलपूजा सुरु गरेका थिए। त्यसबेलादेखि हरेक तीन–तीन वर्षको फरक पारेर फागुन महिनाको विवाहको अन्तिम शुभलग्नमा कुलपूजा गरिँदै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै यसवर्ष १४०औं कुलपूजा भव्य रूपमा सम्पन्न गरिँदै छ। यस ऐतिहासिक परम्परालाई सम्मान गर्दै, मुलपानी मुर्चोकमा सुरेश थापाको संयोजकत्वमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिँदै छ।

यो विशेष पूजामा बगाले थापाहरू विभिन्न जिल्लाबाट ध्वजा, पताका, बली दिने बोका, र बाजागाजासहित सहभागी हुने परम्परा छ। कुलपूजाको दिन, बगाले थापाहरूको निसान मन्दिरबाट करिब २ किलोमिटर टाढा रहेको कुलायन थानसम्म हेलिकोप्टरबाट पुष्पवृष्टि गरिनेछ। साथै, सूर्य–चन्द्र अंकित ४९ ओटा तारासहितको बगाले थापाहरूको निसान झन्डा, शंख, घण्टा, चमर, डमरु, दीयो, कलश, राष्ट्रिय झन्डा, र १०० भन्दा बढी परम्परागत खुकुरी–खोंडासहित भव्य झाँकी प्रदर्शन गरिने छ। निसान भगवतीको बक्सालाई डोलीमा राखेर, बगाले थापाहरूको सबैभन्दा जेठो भाइलाई मूल पुजारी बनाई बाजागाजासहित कुलायन थानसम्म पु¥याइने छ।

कुलायन थानमा दिनभर होम–हवन, पूजा–अर्चना, र बलिदान गर्ने परम्परा रहेको छ। यस क्रममा करिब १,००० भन्दा बढी बोका र भेडा बलि दिइने छ। बगाले थापाका कुल मष्टदेवताहरू— समालिंग, सिरुभार, र बिन्दबासिनीका तान्त्रिक हवनसहित कुलदैवी धामीहरूलाई चढाइने छ।

इतिहास साक्षी छ कि वि.सं. १९३८ र वि.सं. १९४२ मा पुन: बगाले थापाहरू दमनमा परे। कतिपय बाँच्नका लागि आफ्नो नाम, थर, र गोत्र परिवर्तन गरेर बसे। तर, कुलदेवता र कुलपितृको आशीर्वादले अहिले बगाले थापाहरूको संख्या दश लाखभन्दा बढी पुगेको छ। अब विश्वभर छरिएर रहेका सबै बगाले थापा क्षेत्रीहरू एकजुट भएर एउटै तिथि, मिति, र विधिबाट कुलपूजा गर्ने अभियानमा लाग्नुपर्ने आवाज उठ्दै आएको छ।

यस ऐतिहासिक र भव्य पूजाको तयारीका लागि मुर्चोक वरपर तथा विभिन्न जिल्लाका बगाले थापा वंशजहरू जुटिरहेका छन्। ६०० वर्षदेखि निरन्तरता पाइरहेको यो कुलपूजा यसवर्ष झन् विशेष बनाउन सबै पक्षबाट तयारी भइरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु