
काङ्ग्रेस सभापति देउवा,संस्थापक अध्यक्ष महतोलगाएतसङ्ग भेटघाट
काठमाडौं–आगामी मे ३ देखि ५ तारिखसम्म काठमाडौँमा तय भएको एकता महाधिवेशनलाई सफल बनाउन एनआरएनएका अभियन्ताहरुले आन्तरिक छलफल भेटवार्तालाई तिव्रता दिएका छन् । काठमाडौँमा भेला भएका उच्चस्तरीय समितिसहितका एनआरएनए अभियन्ताहरुले भेटवार्ता र छलफललाई तीव्रता दिएका हुन् । विश्वभरका गैरआवासीय नेपालीहरुको सुझावका आधारमा समिति अघि बढिरहेको र अहिले आन्तरिक तयारी, बैठक र भेटवार्तालाई तिव्रता दिइएको अभियन्ता गंगाधर गौतमले बताए । उनका अनुसार राजनीतिक दलका नेताहरुसँग भेट गरेर एनआरएनएको विषयमा जानकारी गराइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा,नेताहरु शशांक कोईराला,कृष्ण सिटौला,प्रवक्ता प्रकाश शरण महत,संघीय संसद रामहरी खतिवडा,दिपक गिरी सहितका नेताहरुलाई भेटेर एनआरएनएको विषयमा जानकारी गराइएको छ । सबैले मिलेर एकताको महाधिवेशन गर्न सुझाव दिएको उनको भनाइ छ । यस्तै एमाले र माओवादी केन्द्रका नेताहरुका साथै सबै सरोकारवालालाई भेटेर सफल एकताको महाधिवेशनका लागि सहयोग माग्ने अभियन्ताहरुको तयारी छ । एकताको महाधिवेशन कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा संघका संस्थापक अध्यक्ष एवंम उच्चस्तरीय समितिका सदस्य उपेन्द्र महतोसंग पनि बिहीबार भेट भएको अर्का अभियन्ता आरके शर्माले बताए । उनले एकताको महाधिवेशनको विकल्प छैन भनेर सबैले धारणा राख्ने गरेको बताए । कसैले असहयोग गरेपनि कानुनी हैसियत रहेको समितिले गराउने महाधिवेशनमा आफूहरुको पूर्ण साथ रहेको बताउँदै उनले एनआरएनएको साख एकताको महाधिवेशनले बच्ने बताए ।
एनआरएनएको एकताको महाधिवेशन सम्पन्न गर्नका लागि १९५ सदस्यीय मूल आयोजक समिति गठन भइसकेको छ । आइतबार सम्पन्न एनआरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३, ४ र ५ तारिखमा एकता महाधिवेशन गर्नका लागि संयोजक डा शेष घलेको संयोजकत्वमा नेपाल सरकारका प्रतिनिधि २ जना सहित १९५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको सदस्य विनोद कुँवरले जानकारी दिए ।
सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार समितिका संयोजक घलेले एकताको महाधिवेशन गराउन प्रक्रिया अघि बढाएका हुन् । तर, चैत २१ पछिको सर्वोच्चको दोस्रो फैसलाले आफूहरुले आधिकारिकता पाएको भन्दै ११ औँ महाधिवेशनबाट अध्यक्ष चयन भएका बद्री केसीले भने घले नेतृत्वको समितिलाई अस्वीकार गर्दै आएका छन् । तर, घलेले कानुनविद्हरुका साथै विश्वभरका सरोकारवालासँग छलफलका आधारमा महाधिवेशन गराइछाड्ने भन्दै प्रक्रिया अघि बढाएका हुन् ।
सर्वोच्चको परमादेशअनुसार गठन भएको घले नेतृत्वको उच्चस्तरीय समितिमा उपेन्द्र महतो, देवमान हिराचन, राम प्रताप थापा, जीवा लामिछाने, भबन भट्ट, कुमार पन्त, विनोद कुँवर, कुल आचार्य, रविना थापा, जानकी गुरुङ, उमेश कुमार पुडासैनी र बद्री केसी समेत छन् । तर, केसी हालसम्म समितिको बैठकमा सहभागी भएका छैनन् । यस्तै सहजीकरणका लागि नेपाल सरकारको प्रतिनिधिको रुपमा अरुणा जोशी र पुष्कर नेपालसमेत सदस्य रहेको कुँवरले बताए । उनीहरु स्वतः मुल आयोजक समितिमा रहेका छन् । यस्तै एशिया प्रशान्त क्षेत्र, अमेरिकासम्बन्धी क्षेत्र, युरोप क्षेत्र, मध्यपूर्व क्षेत्र, अफ्रिका क्षेत्रबाट प्रतिनिधित्व रहनेगरी मूल आयोजक समिति बनाइएको छ ।


