बगाले थापा क्षेत्रीहरूको १४०औं कुलपूजाको अबसरमा बृहत स्वास्थ्य शिविर हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते, मंगलवार २१:२०

धादिङ । ऐतिहासिक र गौरवशाली विरासत बोकेको आत्रेय गोत्र बगाले थापा क्षेत्रीहरूको ऐतिहासिक १४० औं कुलपूजा फागुन २३ गते, शुक्रबार,फाल्गुण शुक्लअष्टमी तिथिको शुभविवाहको लगनमा देशका विभिन्न स्थानमा आयोजना हुँदैछ । सो कुलपुजाको अवसरमा धादिङको मुलपानी, मुर्चोकमा बृहत निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिने भएको छ।

त्रिपुरासुन्दरी गाँउपालिकाको मुलपानी मुर्चोकमा आयोजना हुने बगाले थापा हरुको कुलपूजाको अवसर पारेर न्यूरोचिकित्सक डा. लेखजङ्ग थापा सहितका वरिष्ठ विशेषज्ञ डाक्टरहरु टोलीद्वारा सामान्य चिकित्सा, स्त्री तथा प्रसुति रोग, हाडजोर्नी, न्यूरो सेवा, पेटसम्बन्धी रोग, दन्त रोग, भिडियो एक्स-रे सेवा सहित निःशुल्क औषधि वितरण हुने गरि तयारी गरिएको बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसन, नेपालका अध्यक्ष डा. राम थापा क्षेत्रीले बताउनु भयो । सो शिविरमा सशस्त्र प्रहरी बल, नेपालका चिकित्सक सहितको टोलिको पनि सहभागीता रहने सशस्त्र प्रहरी निरीक्षक सुरेश थापाले बताउनु भयो । १४० औं कुलपुजाका दौरान सहभागी हुने बन्धुका साथै स्थानीय जनसमुदायका लागि धादिङ स्थित तिलगंगा आखा अस्पतालको टोलिबाट मोतीविन्दु जाँच शिविरको ब्यबस्था गरिने कुलपुजा आयोजना तथा तयारी समितिका संयोजक सरोज थापाले जानकारी दिनुभयो ।

“शक्तिको प्रतीक पितृ र कूलदेवता, वंश एकता आजको आवश्यकता” भन्ने मूल नारासहित, त्रिपुरासुन्दरी गाउँपालिका–३, मुलपानी मुर्चोक, धादिङमा आयोजना हुने १४० औं राष्ट्रिय कुलपूजा ऐतिहासिक एवं सांस्कृतिक रूपमा विशेष महत्त्व राख्दछ ।

नेपाल राष्ट्र निर्माणमा महत्त्वपुर्ण योगदान पुर्याउने बगाले थापाहरू नेपाल एकीकरण अघि विभिन्न राज्यका राजा भएर शासन गरेको इतिहास पाइन्छ । राष्ट्रिय एकता र अखण्डताका लागि बगाले थापाका पुर्खाहरूले महत्वपूर्ण योगदान दिएका थिए। तर, दरबारभित्रको कलह, षड्यन्त्र, र बाह्य शक्तिको प्रभावका कारण उनीहरूलाई झुट्टा मुद्दा लगाइयो। वि.सं. १८९६ मा मुख्तियार जनरल भीमसेन थापाको दु:खद अवसान र वि.सं. १९०२ मा नेपालका प्रथम प्रधानमन्त्री माथवरसिंह थापाको हत्या यसै षड्यन्त्रको परिणाम थियो। यस घटनापछि बगाले थापाहरू व्यापक दमनमा परे, कतिपयले आफ्नो गोत्र र थर परिवर्तन गरी ज्यान जोगाउनुपर्‍यो।

बगाले थापाका आदि कुलपुरुष सन्त महाराज कालु बगाले थापाले वि.सं. १२१५ मा डोटीमा कुलपूजा सुरु गरेका थिए। त्यसबेलादेखि हरेक तीन–तीन वर्ष पछि फागुन महिनाको विवाहको अन्तिम शुभ लग्नमा कुलपूजा गरिँदै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै यसवर्ष १४०औं कुलपूजा भव्य रूपमा सम्पन्न गरिँदै छ । धादिङको मुर्चोक, केवलपुर, चितवनको रामनगर, भतेरी, सर्लाहीको धरहरा, लमजुङको सुर्यपाल, गोरखाको पीपलथोक, आपचौर, बोर्लाङ, महादेवटार, सिरन्चोक, क्यामुनटार, बाकेको कोहलपुर, गुल्मीको धुर्कोट, मोरङको मङ्गलबारे, कास्कीको हेम्जा, बागलुङको गलकोट लगायत देश भरीका सबै बगाले थापाहरुको कुलपुजा स्थलमा एकै तिथिमा १४० औं कुलपुजा आयोजना हुने गरि व्यवस्था मिलाइएको बगाले थापा क्षेत्री कुलपुजा आयोजना समितिका अध्यक्ष लोकेन्द्र कुमार थापा क्षेत्रीले बताउनुभयो ।

बगाले थापा खलकको कुलपुजामा विभिन्न जिल्लाबाट आउने बन्धुहरुले ध्वजा, पताका सहित पुजा सामाग्री अर्पण गर्ने र बोका बली दिने परम्परा रहि आएको छ । फागुन २३ गते शुक्रबार बगाले थापाहरूको निसान मन्दिरबाट बाजागाजा सहितको लावालस्कर करिब २ किलोमिटर टाढा रहेको कुलायन थानसम्म शोभा यात्रा हुने बताइएको छ । सो कुलपुजाको अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिनेछ।

साथै, सूर्य–चन्द्र अंकित ४९ तारासहितको बगाले थापाहरूको निसान झन्डा, शंख, घण्टा, चमर, डमरु, दीयो, कलश, झल्लरी छाता, राष्ट्रिय झन्डा र परम्परागत खुकुरी–खोंडा सहितको हातहतियार सहित झाँकी प्रदर्शन गरिने छ । निसान भगवतीको बक्सालाई डोलीमा राखेर बगाले थापाहरूको सबैभन्दा अग्रजलाई मूल पुजारी बनाई बाजागाजा सहित कुलायन थानसम्म पुर्याउने परम्परा रहेको छ ।

सो कुलपुजा हुने शुभ दिनमा कुलायन थानमा दिनभर होम–हवन, पूजा–अर्चना, र बलि दिने परम्परा रहेको छ। यस क्रममा करिब १,००० भन्दा बढी बोका र भेडा बलि दिइने छ । बगाले थापाका कुल मष्टदेवताहरू— श्री बराह (बार्ह) मष्ट, श्री विन्दबासिनी भगवती, श्री निसान भगवती र श्री समालिंग (सोमलिङ्ग)को तान्त्रिक हवनसहित कुल धामीहरूबाट पुजा हुनेछ ।

इतिहासमा बगाले थापा खलकले निक्कै कष्ट बेहोर्नपरेको हामी सबैलाई सर्वविदितै छ । मुख्तियार भीमसेन थापाको निधन पछि तत्कालीन राज्यबाट बगाले थापा खलक माथी निक्कै दमन भएको पाइन्छ । तर राष्ट्रनिर्माणमा अतुलनीय योगदान पुर्याउने राष्ट्रिय विभुती बडाकाजी अमरसिंह थापा, राष्ट्रिय विभुती मुख्तियार जनरल भीमसेन थापा, काजी नयनसिंह थापा, जनरल रणवीरसिंह थापा, कर्णेल उजीरसिंह थापा, प्रधानमन्त्री माथवरसिंह थापा, काजी वीरभद्र थापा, काजी अमृतसिंह थापा, काजी रणजोरसिंह थापा, काजी रणध्वज थापा, काजी सर्वजीत थापा, काजी बख्तावरसिंह थापा लगायत थुप्रै बगाले थापा खलकका योद्धाहरुले नेपाल राष्ट्रनिर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको तथ्य हामी सामु रहेको छ । कुलदेवतालाई निक्कै श्रद्धा र विश्वास राख्ने बगाले थापाहरू अहिले देश तथा विदेशमा गरि करिब बाह्र लाख भन्दा बढी रहेको तथ्यांक रहेको पाइन्छ । विश्वभर छरिएर रहेका सबै बगाले थापा खलकहरुलाई एकताको मालामा आवद्ध गराई राष्ट्रहितमा सरिक गराउने उद्देश्यले बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेसन, नेपाल मार्फत देशैभरी छरिएर रहेका बगाले थापाहरु एकतावद्द हुँदै गएको पाइन्छ ।

फाउन्डेसनकै आव्हानमा बगाले थापा क्षेत्रीहरू एकजुट भएर एउटै तिथि, मितिमा एकै विधिबाट कुलपूजा गर्ने अभियान चलाईएको छ । नेपालका विभिन्न जिल्लामा रहेका बगाले थापाहरुले करिब ७२० वर्ष पुरानो धादिङ, मुलपानी मुर्चोककै तिथि, मिती र विधिमा कुलपुजा गर्नेगरी तयारी गरिएको बगाले थापा क्षेत्री राष्ट्रिय फाउन्डेसन, नेपालका अध्यक्ष डा. राम थापा क्षेत्रीले जानकारी दिनुभयो 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु