काठमाडौं, फागुन ६ गते । नेपाली राष्ट्रिय पुरुष कबड्डी टोली मंगलबार बंगलादेशको ढाका प्रस्थान गरेको छ । फेब्रुअरी १८ देखि २८ तारिखसम्म हुने बंगलादेश विरुद्ध ५ खेलको श्रृंखला खेल्न १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बंगलादेश गएको हो ।
खेलाडीमा प्रमोदकुमार श्रेष्ठ, घनश्याम रोका मगर, सुशिल चुनारा, अमितकुमार राजभार, मेघराज गिरी, नवीन लुहार, रविन कुँवर, सतिशकुमार कुर्मी, सुरज बोहरा, सोहेल इस्लाम, सविन बोहाजु, रामु टमाटा, गणेश पार्की र भुवन बोहरा रहेका छन् ।
प्रशिक्षकमा लोकबहादुर विष्ट, व्यवस्थापकमा खेमराज चम्लागाईं तथा अफिसियलमा निराजन श्रेष्ठ र नवराज श्रेष्ठ छन् । टोलीलाई सफलतको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
उक्त बिदाइ कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङले मिसन–२०२६ को तयारीका लागि आफूभन्दा बलिया टोलीहरूसँग धेरैभन्दा धेरै अभ्यास खेल्न राख्न संघलाई सुझाएका छन् । सदस्यसचिव घिसिङले जसरी पनि मिसन– २०२६ को एसियन गेम्समा पदक ल्याउन यो अभ्यास खेल महत्वपूर्ण पाइला हुन सक्ने धारणा व्यक्त गरे । नेपालको पुरुष कबड्डी टोलीले ल्याएको अन्तर्राष्ट्रिय सफलताका आधारमा मिसन २०२६ मा समावेश गरिएको बताए ।