–दिपक विवश आँशु
मलेसिया । ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापाकाे सतासीधाम जेसीजद्वारा आयोजित विशेष समारोहमा संसार अनलाइन न्युज टिभीको लोकप्रिय कार्यक्रम ‘कथामाला’ की कथा वाचिका तथा समाजसेवी जेसी निर्मला प्रधानलाई सम्मानित गरिएको छ।
समाज रूपान्तरण र सामाजिक सेवामा समर्पित योगदानको कदर गर्दै प्रधानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।
लामो समयदेखि सामाजिक कार्यमा सक्रिय प्रधानले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण तथा अन्य विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएकी छिन्।
सम्मान ग्रहण गर्दै प्रधानले समाजसेवामा अझ उत्साहका साथ लागिरहने प्रतिबद्धता व्यक्त गरिन्। साथै, उनले यस सम्मानलाई आगामी दिनमा थप प्रेरणा र जिम्मेवारीको रुपमा लिने बताइन्।
यस अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले प्रधानको कार्यको प्रशंसा गर्दै समाजसेवामा निरन्तर लागिरहनु पर्नेमा जोड दिएका थिए। सतासीधाम जेसीजले हरेक वर्ष सामाजिक सेवामा समर्पित व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।