आज तराई तथा मधेसका जिल्लाहरूमा हर्षोल्लासपूर्वक होली मनाइँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र १ गते, शुक्रबार ०९:०९

रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ। परम्पराअनुसार, हिमाली र पहाडी जिल्लाहरूमा फागुपूर्णिमा (होली) मनाइएको भोलिपल्ट तराईका जिल्लाहरूमा होली मनाउने चलन छ। यसैअनुसार, आज तराईका जिल्लाहरूमा होली मनाउन लागिएको हो।

आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लाहरूमा होली मनाइँदै छ।

मगर र थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ। सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिइन्छ।

यस पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व पनि छ। दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई प्रल्हादसहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुसियालीमा होली मनाउने गरिन्छ।

होली पर्वले आपसी सद्भाव, भ्रातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ। यस अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ। भौगोलिक संरचना र मान्यताअनुसार फागुपूर्णिमा मनाउने चलन छ। स्थानअनुसार यस पर्वको नाम पनि फरक-फरक छ; हिमाली र पहाडी भेगमा ‘फागु’ र मधेसमा ‘होली’ भनिन्छ। मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ।

तराई-मधेस क्षेत्रमा होली पर्वको अवसरमा साथीभाइ तथा आफन्तहरू मिलेर रङहरू दलेर आपसमा खुसी साटासाट गर्ने प्रचलन छ। यस अवसरमा सरकारले तराई-मधेस क्षेत्रका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ।

यसरी, होली पर्वले समाजमा आपसी सद्भाव, भ्रातृत्व र आत्मीयता बढाउँदै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु