यो जीवन अनौठो छ। जीवनको पूर्वार्ध बाल्यकाल हर्ष उल्लास ममता र प्रेमले हुर्कँदै जाने रहेछ किशोर अवस्थामा संसारभरको ज्ञान मसँगै छ भन्ने घमण्ड हुन्छ। म सिक्न सक्छु मैले जानेको छु। भन्ने अहमले र त्यही अहमलाई परिवारको ममताले पनि छोप्ने रहेछ। जीवनको उत्तरार्धमा थुप्रै कुरा झेलिने रहेछ। मान्छे सामाजिक हुन सिक्छ। परोपकार गर्न थाल्छ। ध्यान गर्न थाल्छ अपनत्व महसुस गर्न थाल्छ। र अरुलाई प्रेम बाँड्न सिक्छ। हो यही समयमा थुप्रै चुनौती थुप्रै व्यावधान र थुप्रै वियोगहरू खप्न पर्ने हुँदो रहेछ। आफ्नै माया गर्ने परिवार,आफन्त,इष्टमित्र,साथीभाई सबै सबैले एकएक गरेर बिस्तारै छाड्दै जान्छन्।आफू एक्लो भइन्छ,कुनै काममा मन लाग्दैन निरीह निरस भइन्छ यो सबैमा लागु हुन्छ भन्ने जान्दा जान्दै पनि फेरि मन निरस बन्छ। मनलाई सम्हाल्न खोज्दा खोज्दै कतिबेला मन बग्छ आँसु बनेर थाहा नहुँदो रहेछ । हुन त जीवन उतारचढावकै खेल हो। तर जीवनको उत्तरार्धमा लोभ,मोह,क्रोध सबै कुरा त्याग्दा पनि आफन्तको ममता त्याग्न नसकीदो रहेछ।
आज मेरी हजुरआमा हामीबाट सदाका लागि बिदा हुनुभयो। बिहान आँखा खुल्ने बित्तिकै घरबाट दाइको छोराले पठाएको सन्देश प्राप्त भयो ।हजुरआमाले हामीलाई छाडेर जानुभयो उसले यति भनेपछि ३ घण्टासम्म म जहाँको त्यही स्टाचु बनेछु। सबै थाहा पाएर पनि थाहा नपाइने भएछु, यो म मात्र होइन यतिबेला मेरो परिवारका सम्पूर्ण सदस्यहरू अङ्कल आन्टीहरू दाइदिदीहर,भाईबैनीहरु, भतिजा,भतीजी सबै सबै। जति हजुरआमासँग जोडिएका छौं ती सबै। सम्भावना छैन हजुरआमालाई फेरि भेट्ने तर सम्झनाहरू यति शक्तिशाली भएर आउँछन् र बिस्तारै प्रेरणा जगाउँछन् अगाडि बढ्न पारिवारिक एकता हुन हौसला दिन्छन् सबैलाई एकबद्ध हुन बाध्य पारिदिन्छन् यही सम्झनाको शक्ति सम्झेर मैले शब्दहरू हजुरआमाकै लागि माला बनाउन कोसिस गरे
यतिबेला हाम्रो घरमा हजुरआमालाई सजाइँदै छ हजुरआमाको अन्तिम विदाईको लागि सकेसम्म शृंगार गरिँदैछ। हजुरआमालाई अन्तिम अवस्थामा प्रत्यक्ष श्रद्धासुमन दिन ठाउँ ठाउँबाट सबैजना आउँदै हुनुहुन्छ पहाडबाट मधेसका विभिन्न ठाउँबाट काठमाडौँबाट सबैतिरबाट ।म यतिबेला स्वयम्भूको छेउमा छु। भगवानसँग हजुरआमाको आत्माको शान्तिको कामनासँगै हाम्रो पारिवारिक शक्तिको पनि कामना गरिरहेछु।
मेरा बाल्यकालहरू धेरै सुखद थिएनन् तर घरभित्र म सबैको प्रिय थिए। हाम्रा दुई घर थिए। ती दुई घरमा म सबैभन्दा सानी र सबैकी प्यारी थिए। के पाक्छ कुन भान्सामा मेरो पहिलो प्राथमिकता हुन्थ्यो। मेरो परिवारका जेष्ठ सदस्यहरू विशेषगरी बुवाआमा दाइ दिदी र काकाहरू सबैको काखमा बसेर म विद्यालय पुगेकी छु। मैले कक्षा ३ सम्म काखमै बोकेर विद्यालय जानुपर्ने थियो। कक्षा चार पुगेपछि मात्रै म आफै विद्यालय जान थालेकी हु।
परिवारका इतिहासहरू सबै सुन्दर हुन्छन्। ती सुन्दर ईतिहास वोकेको जिउँदो कथा हुनुहुन्थ्यो हजुरआमा। हामीले जति भोग्यौँ त्योभन्दा पृथक थियो उहाँको जीवन कथा। नौ वर्षको उमेरमा बिहे गरेर हाम्रो घरमा भित्रिनु भएकी हजुरआमा बाल्यकालदेखि नै हाम्रो वंशका प्रत्येक चिजसँग परिचित हुनुभयो। उहाँले हामीलाई परिवारको एउटा इतिहास परिवारको वर्तमान सबैसँग साक्षात्कार गराउनुभयो।
हजुरआमासँग सिकेका किस्साहरु प्रेरणादायी,रमाइला र सुन्दर पक्ष छन्। जीवनको प्रत्येक क्षणमा छोरीहरू प्यारो हुने र छोरीहरू नै सशक्त बन्नुपर्ने पछिल्लो समय हजुरआमाले महसुस गरेका कुरा थिए। सधैं प्रेरणाका आशीर्वादहरू मेरो सिर माथि राख्नुहुने हजुरआमा भर्खरै अब मेरा आशीर्वादहरु तिमीले आफ्नो सम्झनामा प्रेरणा सम्झ र अगाडि बढ भन्ने सन्देश दिएर सधैंको लागि बिदा हुनुभयो।
हजुरआमा मेरा केही प्रतिबद्धताहरू छन्। म तपाईँहरूले छोडेर गएपछि पनि सधैं सँगै भएको अनुभूतले जीवन सुखद बनाउन लागि परिरहने छु। विशेषगरी हजुरबा,बा र आमा अलिक छिटै जानुभयो अब हजुरको उहाँहरुसँगै भेट हुनेछ। परिवारको सुखद पक्ष भनेकै सबैसँगै हुनु हो। हामी यहाँ बसेर विश्वास गर्छौं त्यहाँ हजुरहरु पनि सँगै हुनुहुनेछ र हजुरहरूको आशीर्वाद हामी यहाँ हुने सबैले पाउनेछौं। हजुरआमा हजुरको गोलोक यात्रा सुखद सरल र सहज बनोस्। हामी सधैं हजुरको सम्झनामा आशिर्वाद महसुस गर्नेछौं। हजुरकी प्यारी कान्छी नातिनी
२०८१/१२/२
देवु पराजुली