काठमाडौं — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहीवार बिहान ८ बजेदेखि देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट एकसाथ सुरु हुँदैछ। परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार चैत ७ गतेदेखि सुरु हुने परीक्षाका लागि आवश्यक सबै सामग्री सम्बन्धित जिल्लामा पु¥याइसकिएको छ। उनले परीक्षा केन्द्रहरूमा कुनै समस्या नभएको जानकारी दिँदै सबै परीक्षार्थीलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गरे।
५ लाखभन्दा बढी विद्यार्थी सहभागी
यस वर्षको एसइईमा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुनेछन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ४९ हजार २८६ ले बढी हो। २०८० सालमा ४ लाख ६४ हजार ७८५ विद्यार्थीले परीक्षा दिएका थिए।
सबैभन्दा बढी परीक्षार्थी काठमाडौँ जिल्लामा ३९ हजार ६ सय छन् भने सबैभन्दा कम परीक्षार्थी मनाङ जिल्लामा मात्र ४३ जना छन्। विदेशमा रहेका नेपाली विद्यार्थीका लागि जापानमा पनि परीक्षा केन्द्र सञ्चालन गरिँदैछ, जहाँ २९ जना परीक्षार्थी सहभागी हुनेछन्।
कारागार र बालसुधार गृहबाट पनि परीक्षा
यस वर्षको एसइईमा काठमाडौँको केन्द्रीय कारागार, दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि परीक्षार्थीले परीक्षा दिने अवसर पाएका छन्। साथै, कीर्तिपुरस्थित सफलता एचआइभी शिक्षा सदनबाट ४ जना एचआइभी सङ्क्रमित विद्यार्थी पनि सहभागी हुनेछन्।
सुरक्षा व्यवस्था र परीक्षा संचालन
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्रहरूको सुरक्षालाई उच्च प्राथमिकता दिएको छ। परीक्षामा १५० जनासम्म परीक्षार्थी रहेको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष रहनेछन् भने प्रत्येक २० विद्यार्थीका लागि एकजना निरीक्षक खटाइनेछ। तर, ७५ जनाभन्दा कम विद्यार्थी रहेको परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष नरहने व्यवस्था गरिएको छ।
परीक्षा तालिका
एसइई परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
चैत ७ गते: अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमका लागि अनिवार्य संस्कृत, मदरसातर्फ अनिवार्य अरबी भाषा
चैत ८ गते: अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीका लागि इलेक्टिभ इङ्लिस
चैत १० गते: अनिवार्य गणित
चैत १२ गते: अनिवार्य विज्ञान तथा प्रविधि, संस्कृतका विभिन्न पाठ्यक्रम
चैत १३ गते: अनिवार्य सामाजिक शिक्षा
चैत १४ गते: ऐच्छिक प्रथम विषय
चैत १५ गते: ऐच्छिक द्वितीय विषय
नतिजा असार ७ गतेभित्र सार्वजनिक गर्ने लक्ष्य
यस वर्ष पनि एसइईको नतिजा लेटर ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरिनेछ। परीक्षामा उत्तीर्ण हुन न्यूनतम ३५ अङ्क प्राप्त गर्नुपर्नेछ। बोर्डले उत्तीर्ण दर ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ।
२०८० सालको एसइई परीक्षामा मात्र ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस वर्ष उत्तीर्ण दर वृद्धि गर्न विशेष रणनीति अपनाइएको बोर्डले जनाएको छ।