झापा एफसीले आफ्नो टोलीलाई अझ सशक्त बनाउने क्रममा अनुभवी नाइजेरियन स्ट्राइकर अल्हाजी गेरो लाई अनुबन्ध गरेको छ। यूरोपियन लिगमा लामो अनुभव बोकेको गेरो स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनामको शीर्ष डिभिजनमा खेलेका छन्। विशेषगरी, स्विडेनको पहिलो डिभिजनमा उनले लामो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।
उनले स्विडेनको प्रतिष्ठित क्लब ओस्टरसुन्ड एफके (Ostersunds FK) बाट खेल्दै यूईएफए यूरोपा लिग मा समेत गोल गरेका छन्। त्यसैगरी, उनले नाइजेरियाको यू-२० राष्ट्रिय टोली साथै नाइजेरिया राष्ट्रिय टोली बाट समेत खेल्ने अवसर पाएका छन्।
गेरोको अनुभव र व्यावसायिक खेल शैलीले नेपाली फुटबलमा नयाँ प्रेरणा र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक भावना ल्याउनेछ। उनको आगमनले झापा एफसी मात्र नभई समग्र नेपाली फुटबललाई पनि बलियो बनाउन योगदान दिने विश्वास लिएको छ। झापा एफसीका लागि उनको आगमनले क्लबलाई आक्रमण लाइन अझ सशक्त बनाउने छ।