काठमाण्डौं । रविना थापा गैरआवासीय नेपाली संघ (एनआरएनए)को पूर्व अध्यक्ष हुन् । त्यसो त गैरआवासीय नेपाली संघ (एनआरएनए)को सर्वोच्च पदमा पुग्दै पहिलो महिला अध्यक्षका रूपमा रविना थापाले इतिहास रचेकी छन्। एनआरएनए स्थापना भई २० वर्षको अवधिमा पुरुषले मात्रै नेतृत्व गरिरहेको अवस्था माझ उनले त्यो सफलता हासिल गरेकी थिईन् । सबैसँग मित्रवत व्यवहार र समन्वय गर्ने क्षमताका कारण उनले आफनो छोटो कार्यकाललाई सम्झन लायकको बनाएकी छिन् । नेतृत्वदायी भूमिकाका साथ सफलतापूर्वक आफनो कार्यकाल पुरा गरेकी रविना अवसर पाए महिलाहरुले अब्बल काम गर्न सक्छन् भन्ने एक गतिलो उदाहरण पनि हुन्।
एनआरएनएको १५औं महाधिवेशनले कुल आचार्य, डा। बद्री केसी, र रविना थापालाई अध्यक्ष पदमा चयन गर्दै कार्यकारी जिम्मेवारी ६र६ महिनामा बाँड्ने व्यवस्था गरेको थियो। पहिलो कार्यकाल कुल आचार्यले सम्हालेपछि दोस्रो चरणमा थापाले नेतृत्व लिएकी थिइन्। उनले अमेरिकाबाट प्रतिनिधित्व गर्दै एनआरएनएको नेतृत्व सम्हाल्दै विभिन्न महत्त्वपूर्ण सुधारात्मक कदमहरू चालेकी थिईन्।
उनको कार्यकालमा भएका ८ महत्वपूर्ण उपलब्धिहरू
गैरआवासीय नेपाली नागरिकता – एनआरएनएले नागरिकता विधेयकका विषयमा विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरूसँग छलफल गर्दै नयाँ सरकारबाट प्रतिबद्धता प्राप्त गर्यो।
वैदेशिक रोजगार र सामाजिक सुरक्षा – संघको पहलमा सरकारले वैदेशिक लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँबाट दुई करोड रुपैयाँमा झारेको छ। साथै, मध्यपूर्वका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने अभियान सफल भएको छ।
गैरआवासीय नेपाली दिवस र ग्लोबल कन्क्लेभ – एनआरएनएको पहलमा आयोजित ग्लोबल कन्क्लेभमा महत्वपूर्ण छलफलहरू सम्पन्न भए।
मोबाइल ब्लड बस तथा स्मार्ट शौचालय परियोजना – एनआरएनए जापान र कास्की समाज जापानको सहयोगमा कास्कीमा ब्लड कोल्ड रुम निर्माणका लागि २० लाख रुपैयाँको सम्झौता सम्पन्न भयो। पोखराको महेन्द्र पुलमा स्मार्ट शौचालय निर्माणका लागि पोखरा महानगरपालिका र संघबीच सम्झौता भयो।
खेलकुदमा सहभागिता – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए टोलीले १० स्वर्ण, ९ रजत, र ७ कास्य पदक जित्न सफल भयो।
नेपाल प्रवर्द्धन र पर्यटन विकास – पोखरा र गाईघाटमा पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्दै नेपाललाई नयाँ पर्यटन गन्तव्यका रूपमा प्रचार गर्ने कार्य सम्पन्न गरियो।
समाजसेवा र मानवीय सहायता – डोटी भूकम्प पीडित परिवारलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरियो। टर्की भूकम्प पीडितहरूलाई ५ हजार डलर सहयोग प्रदान गर्दै टर्कीका राष्ट्रपतिलाई समवेदना पत्र पठाइयो।
संघको संस्थागत विकास – एनआरएनएको मुखपत्र ‘ग्लोबल एनआरएनए’ पुनः प्रकाशन गरियो। साथै, एनआरएनए ऐन संशोधन गर्दै परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गरियो।
थापाको नेतृत्वमा संघका प्रतिनिधिहरूले तत्कालीन गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, अर्थमन्त्री विष्णु पौडेल लगायतका उच्च अधिकारीहरूसँग भेट गरी गैरआवासीय नेपालीहरूका मुद्दाहरूमा छलफल गरेका थिए।
शालीन, सक्षम र मित्रवत व्यक्तित्वले ओतप्रोत
गैरआवासीय नेपालीहरूको हकहितको संरक्षण गर्दै संघलाई अझ सशक्त बनाउन रविना प्रतिबद्ध रहदै आएकी छिन् । उनले गैरआवासीय नेपालीहरूको समस्याको समाधानका लागि पहल जारी राख्दै संस्थागत परियोजनाहरूको निरन्तरताका लागि जोड दिदै आएकी छन्।६ महिनाको कार्यकाल पूरा गर्दै संघको नेतृत्व परिवर्तन भए पनि गैरआवासीय नेपालीहरूको हक, अधिकार, र प्रवर्द्धनका लागि थालिएका पहलहरूलाई निरन्तरता दिने प्रतिवद्धतासहित थापाले पद हस्तान्तरण गरेकी थिईन्।
रविना थापाको कार्यकाल, ऐतिहासिक उपलब्धिहरू र एनआरएनएमा उनले स्थापित गरेको नेतृत्वदायी क्षमताले गैरआवासीय नेपाली समुदायलाई नयाँ दिशा प्रदान गरेको छ।
आगामी एकता महाधिवेशनमा महत्वपूर्ण भूमिका
एनआरएनएले अन्तर्राष्ट्रिय समन्वय परिषद एकता महाधिवेशनको तयारी गर्दैछ, जसअन्तर्गत आगामी मे ३–५ मा काठमाडौंमा एकता महाधिवेशन आयोजना हुँदैछ।एकता महाधिवेशनका लागि थापालाई प्रचार(प्रसार समितिको संयोजकको जिम्मेवारी दिइएको छ। हालै एनआरएनएको ६७ सदस्यीय केन्द्रीय प्रचार(प्रसार समिति उनको संयोजकत्वमा गठन भएको छ। साथै, उनी शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको सदस्य सचिवको भूमिकामा पनि रहेकी छन्। उनको शालीन व्यक्तित्व र समन्वयकारी भूमिकाका कारण उनलाई संघको महत्वपूर्ण जिम्मेवारी दिइएको हो भन्नु अत्युक्ति नहोला।
संघले गैरआवासीय नेपाली समुदायको आवाज उठाउने, नेपालमा लगानी भित्र्याउने, तथा सामाजिक सुरक्षा जस्ता महत्वपूर्ण क्षेत्रमा योगदान दिने कार्यलाई निरन्तरता दिनुपर्नेमा उनको विशेष जोड रहदै आएको छ ।