नेपाली खानाको मौलिकता र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ।
विश्वभर छरिएर रहेका नेपाली सेफहरूको पहलमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा हुदै गरेको फुड फेस्टिभलको सन्दर्भमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरिराज भट्ट सँग गरिएको कुराकानी :
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल २०२५ को मुख्य उद्देश्य के हो?
नेपाली खानाको मौलिकता जोगाउँदै अन्तर्राष्ट्रिय स्तरमा यसको प्रवर्द्धन गर्नु नै मुख्य उद्देश्य हो। यस फेस्टिभलमार्फत हामी नेपाली सेफहरूलाई एकजुट गराउँदै नेपालको पाककला पर्यटनलाई विश्वसामु चिनाउने लक्ष्य लिएका छौं।
यो फेस्टिभलमा कति देशका सेफहरू सहभागी हुँदैछन्, र तिनीहरूले के योगदान दिनेछन्?
अहिलेको तयारी अनुसार करिब ३६ देशका नेपाली सेफहरू यो फेस्टिभलमा सहभागी हुनेछन। उनीहरूले आफ्ना अनुभव, नयाँ प्रविधि, र विशेष नेपाली परिकारहरू प्रस्तुत गर्नेछन। विभिन्न देशका सेफहरूले नेपाली खानालाई आफ्ना मुलुकहरूमा कसरी लोकप्रिय बनाउन सकिन्छ भन्ने विषयमा पनि अनुभव साझा गर्नेछन।
नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्न सेफहरूले के-कस्ता चुनौतीहरू सामना गरिरहेका छन्?
प्रमुख चुनौती भनेको नेपाली खानाको उचित ब्रान्डिङ र व्यावसायीकरण हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली परिकारहरूसँग प्रतिस्पर्धा गर्न परम्परागत स्वादलाई जोगाउँदै नयाँ प्रविधिसँग समायोजन गर्नु चुनौतीपूर्ण छ। साथै, नेपाली खाद्य सामग्रीको निर्यातमा पनि अझै नीति निर्माण र व्यवस्थापनमा सुधार आवश्यक छ।
फेस्टिभलको प्रमुख आकर्षण के-के रहनेछन्?
फेस्टिभलमा ४० वटा स्टलहरू रहनेछन्, जसमा परम्परागत नेपाली रैथाने खानाका परिकारदेखि आधुनिक परिकारसम्मको प्रदर्शन हुनेछ। साथै, सेफ अवार्ड वितरण, सामाजिक सम्मान,पाककला सम्बन्धी पुस्तक विमोचन, सांस्कृतिक झाँकी प्रदर्शन, इन्टरकलेज फुड प्रतियोगिता, र अन्तर्राष्ट्रिय सेफ सम्मेलन पनि आयोजना हुनेछ।
अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले नेपाली पर्यटन प्रवर्द्धनका लागि के भूमिका खेल्न सक्छ?
पर्यटन प्रवर्द्धनका लागि खानाको ठूलो भूमिका हुन्छ। हाम्रो सोसाइटीले नेपाली खानालाई प्रवर्द्धन गर्दै नेपाललाई फुड टुरिजमं गन्तव्यका रूपमा स्थापित गर्न योगदान दिनेछ। साथै, नेपाली सेफहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनेछ।
पहिलो केन्द्रीय अधिवेशनमा के-कस्ता निर्णयहरू लीने अपेक्षा गर्न सकिन्छ?
अधिवेशनमा नयाँ कार्यसमिति चयन हुनेछ,जसले आगामी वर्षका लागि नीति तथा कार्यक्रमहरू तय गर्नेछ। विशेष गरी नेपाली खानाको स्तर उन्नति, नेपाली सेफहरूको हकहित, र अन्तर्राष्ट्रिय स्तरमा नेपाली पाककलाको विस्तारका लागि नयाँ योजनाहरू निर्माण गरिनेछ।
अन्त्यमा,नेपाली सेफहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन हामी सबैले मिलेर काम गर्नुपर्छ। आफ्नो अनुभव, सीप, र सृजनशीलतालाई प्रयोग गरेर नेपाली खानालाई विश्वभर चिनाउने अभियानमा सक्रिय रूपमा संलग्न हुन सबै सेफहरूलाई आग्रह गर्न चाहन्छु।