
काठमाडौँ विश्वविद्यालय, धुलिखेलमा वैशाख २५ देखि २७ गते २०८२ सम्म विज्ञान विद्यालय अन्तर्गत गणित विभागको आयोजनामा सम्पन्न “International Conference on Non-Linear Analysis and Optimization with Workshop on Fixed Point Theory and its Applications ” सफलतापूर्वक सम्पन्न भएको छ।
सम्मेलनको उद्घाटन समारोह गणित विभागका प्रमुख प्रा. डा. रबिन्द्र कायस्थको अध्यक्षतामा सम्पन्न भयो। समारोहमा प्रमुख अतिथिका रूपमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी उपस्थित हुनुहुन्थ्यो। राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा विज्ञान विद्यालयका डीन प्रा. डा. बेदमणि दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्मेलनका Scientific Chair प्रा. डा. दिलबहादुर गुरुङले सम्मेलनको उद्देश्य र कार्यक्रमका मुख्य बुँदाहरूमा प्रकाश पार्नुभयो।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. अच्युत वाग्लेले उद्घाटन मन्तव्य दिँदै गणितको बढ्दो महत्व, यसको विविध प्रयोग तथा यससँग सम्बन्धित चुनौतीहरूबारे चर्चा गर्नुभयो। प्रमुख अतिथि प्रा. डा. अधिकारीले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै यस्ता सम्मेलनले अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यमा टेवा पुर्याउने कुरामा जोड दिनुभयो।
गणित विभाग प्रमुख प्रा. डा. कायस्थले आयोजक समिति, सहभागी वैज्ञानिकहरू तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिँदै उद्घाटन समारोहको औपचारिक समापन गर्नुभयो। उद्घाटन कार्यक्रमको सञ्चालन सम्मेलनका सचिव डा. उमेश राजोपाध्यायले गर्नुभएको थियो।
समारोहपश्चात् Brigham Young University, USA का प्रा. डा. माइकल डोर्फले keynote talk दिनुभयो। त्यसपछि चारवटा समानान्तर सत्रहरू प्रारम्भ भए, जसमा सहभागीहरूले विभिन्न अनुसन्धान प्रस्तुतिहरू गरे।
सम्मेलन हरेक दिन बिहान र दिउँसो गरी चार–चार सत्रमा विभाजित भई सञ्चालन भयो। सम्मेलनको दोश्रो दिन Fixed Point Theory and its Applications शिर्षकमा workshop सम्पन्न गरियो l १७ देशका १३० भन्दा बढी वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूले keynote, plenary, invited तथा contributed talks मार्फत आफ्ना अनुसन्धानपत्रहरू प्रस्तुत गरेका थिए।
सम्मेलनका chair प्रा. डा. कन्हैया झा, co-chair प्रा. डा. दिनेश पन्थी, scientific chair प्रा. डा. दिलबहादुर गुरुङ तथा convener द्वय डा. के. बि. मानन्धर (काठमाडौँ विश्वविद्यालय) र डा. अजय कुमार चौधरी (त्रिभुवन विश्वविद्यालय) हुनुहुन्थ्यो। Local Organizing Committee) का chair डा. समिर श्रेष्ठ हुनुहुन्थ्यो।
उक्त सम्मेलन ज्ञान, अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यको अभिवृद्धिमा महत्वपूर्ण कोशेढुंगा बनेको सहभागिहरूले प्रतिक्रिया दिएका छन्। कार्यक्रम अत्यन्त भावनात्मक र उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो।


