दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिनरल वाटर बेच्न हिँडेकी बूढीआमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते, आईतवार ८:५१

–बिक्रम भक्त जोशी
(नेपाली नाेबल साहित्यकार )

साँझ झमक्क परिसकेको छ ।
चोभारको पार्कमा पातहरू हल्लिँदैनन् अब,
हावा शान्त छ—
जसरी एकछिन मौन हुन्छ जीवन,
जब कुनै आशा बाँकी रहँदैन ।

पश्चिमतिर जब
गोधूलिको मधुरो उज्यालो
विस्तारै आकाशमा हराउँदै जान्छ।
अँध्यारिँदै गएको क्षितिजमा एउटा छायाँ
सल्बलाउँदै उँभो लाग्नथाल्छ ।

एउटी बूढीआमा,
झोलामा झुन्डिएको पानीबोतल
बाँकी दुइचार्टा
ऊ सुमसुम्याउँदै हिँडिरहेकी छे—
जसरी कुनै करुणकथा अन्त्यतर्फ घिस्रिरहन्छ,
मन्द-मन्द धीमा चालले ऊ हिँडिरहेकी छे ।

ऊ हाँस्दिन ।
बरु छिनछिनमा मधुरो आवाज निकाल्छे-
‘पानी चाहिन्छ ? पानी ?’
गला सुक्खा छ,
पानी बेच्नेको आफ्नै घाँटी रित्तिएको छ—
खोकी आउँछ बेलाबेला,
तर ती खोकी सुन्ने कोही छैन
यो पार्कमा,
जहाँ प्रेमीहरू ओँठमा ओँठ जोडेर
भर्खरै उदाएको जून हेर्दैछन् ।

उसका लागि कुनै जून छैन अब,
छोडेर गएका थिए उसलाई—
सबले – पति अनि आफन्तले ।
सन्तान त थिएनन्,
तर कहिल्यै सोचिन कि जीवन
यति लामो अनि एक्लो बन्न सक्छ।
यति दुरुह बन्न सक्छ ।

ऊ बस्थी परको गाउँमा—
जहाँ पुग्न घण्टौँ हिँड्नुपर्छ उसलाई
यो साँझ,
यो बाटो,
यो चिसो,
र यो कहिल्यै नसकिने थकानसँगै।
उसलाई हिँड्नुपर्छ यसरी नैं ।
मिनरल वाटरका बोतलहरु बोकेर।
हरेक दिन, हरेक हप्ता, हरेक महिना ।
यसरी नैं ।
खुइय्य श्वास फेरेर ऊ कहिलेकाहीँ सोच्थ्यो-
यो भोकाउने पेट नभैदिए कति जाती हुन्थ्यो !

अनि पर जब लाटोकोसेरो कराउन थाल्छ,
कीराफट्याङ्ग्रा साँझको राग अलाप्न थाल्छ,
तब ऊ सोच्छे—
“यो एउटा बोतल बेचियो भने पनि,
कम्तीमा आजको एक छाक टर्नेथियो ।
एक पुडिया बिस्कुट त किन्न पाउने थिएँ ।
हिजो जस्तै पानी पिएर सुत्नुपर्ने त थिएन ।”
तर किनारमा बसेका केटाहरू
ऊतिर हेर्दैनन्,
तिर्खाएका ती थिएनन् ।
तिर्खा मेटाउन ती तल्लीन सुरामा जो थिए ।

हो-
उसले बोकेका प्लास्टिकका बोतलहरू,
ऊ जस्तै पारदर्शी छन्,
भित्र केही छैन—
पानी हो, तर पानी जस्तो छैन ।
उसले जिउँदै पानी बेच्छे,
र विस्तारै मर्छे—
हरेक साँझ,
हरेक गोधूलिमा ।
यसरी नैं ।

चोभारको बाटो उँभो लाग्दै
ऊ हराउँदै जान्छे—
अँध्यारोमा विलीन हुँदै जान्छे
अनि ऊसँगै विलीन हुन्छ
त्यो उसले हातमा बोकेको
एक बोतल मिनरल वाटर,
जुन उसले आज बेच्न सकेन ।
एक बोतल मिनरल वाटर,
जसको भरमा आज ऊ
फेरि पनि भोको पेट सुत्नेछिन् ।

(२०८२ जेठ २४ गते, धोबीघाट,ललितपुर,नेपाल )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु