
आज बिहान रसुवाको भोटेकोसी नदीमा अचानक आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। प्रारम्भिक जानकारी अनुसार तीन जना सुरक्षाकर्मीसहित करिब १७, १८ जना बेपत्ता भएका छन्।
रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीका अनुसार बेपत्तामध्ये तीन जना प्रहरी जवान, स्थानीय कामदार, चिनियाँ मजदुर तथा केही सवारी चालकहरू रहेका छन्।
‘हालसम्म प्राप्त विवरणअनुसार करिब १७–१८ जना बेपत्ता छन्,’ डीएसपी शाहीले जानकारी दिँदै भने, ‘हामी खोज तथा उद्धार कार्यमा खटिएका छौँ।’
बाढीको प्रभाव रसुवागढी भन्सार क्षेत्र अन्तर्गत टिमुरेमा विशेष रूपमा परेको छ। प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीले नेपाल–चीन सम्बन्ध विस्तार गर्ने प्रमुख ढोका मितेरी पुल बगाएको छ।
त्यस्तै, भन्सार नजिकै ड्राइपोर्टमा राखिएका सयौँ इभी (विद्युतिय) गाडीहरू पनि बाढीले बगाएको छ। बाढीका कारण स्याफ्रुबेसीतर्फ जाने सडक अवरुद्ध भएको छ भने जलविद्युत आयोजना अन्तर्गतका संरचनाहरूमा पनि क्षति पुगेको छ।
प्रमुख जिल्ला अधिकारी पौडेलले जनाएअनुसार बेपत्तामध्ये ३ जना प्रहरी, ६ जना नेपाली कामदार, ४ जना चिनियाँ नागरिक तथा २ जना सवारी चालक रहेका छन्।
स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली संयुक्त रूपमा उद्धार कार्यमा खटिएको छ। अवस्थाको थप विवरण आउन बाँकी छ।


