
बर्दिवास, साउन २४ –
शनिबार बर्दिवासमा एउटा विशेष दृश्य थियो- गौतम होटलको हल भित्र रंगीचंगी बत्तीको उज्यालो, दर्शकको भीड र हाँसोको लहर । अवसर थियो, सिस्नुपानी नेपाल महोत्तरीले आयोजना गरेको ‘अब हाँस्छ बर्दिवास’ गाईजात्रा विशेष हास्यव्यङ्ग्य महोत्सव ।
कार्यक्रमको सुरुवात उपाध्यक्ष जीवनराज दाहालको हार्दिक स्वागतसँगै भयो । सह–सञ्चालक विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीले प्रस्तुती सुरु गर्दा हलमा रमाइलोको माहोल चुलियो । अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता र प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाको प्रमुख आतिथ्यमा बर्दिवास नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीसहित थुप्रै विशिष्ट पाहुनाहरूको उपस्थिति थियो ।
दर्शकदीर्घामा होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेश अध्यक्ष हिरा गौतमदेखि लिएर साहित्यकार, पत्रकार, व्यवसायी र समाजसेवीहरूसम्मका अनुहारहरू चम्किरहेका थिए । रोटरी क्लबका प्रतिनिधि, विभिन्न संघ–संस्थाका पदाधिकारी र स्थानीय अग्रजहरूको सहभागिताले कार्यक्रमलाई विशेष बनायो ।
मञ्चमा बेलबहादुर परियारको व्यङ्ग्यमूलक प्रस्तुती, कविता दाहालको सुमधुर कविता, जीवनाथ पोखरेलको हास्यगीत, रमेश पौडेलको रमाइलो जादु सबैले आ–आफ्नो शैलीमा दर्शकलाई मन्त्रमुग्ध बनाए । बीचबीचमा ताली र हाँसोको आवाज यति गुञ्जिन्थ्यो कि हलको बाहिरसम्म सुनिन्थ्यो ।
प्रमुख अतिथि सारदा देवी थापाले बर्दिवासमा यस्तो सांस्कृतिक र व्यङ्ग्यमूलक गतिविधिको निरन्तरता आवश्यक भएको बताउँदै, यसले समाजलाई सुधारतर्फ धकेल्ने ऊर्जा दिने विश्वास व्यक्त गरिन् ।
साँझको अन्त्यमा आयोजक अध्यक्ष काफ्लेले सबै अतिथि, कलाकार, सहयोगी संस्था र दर्शकलाई धन्यवाद दिँदै, “हाँसो र चेतना सँगसँगै यात्रा गरिरहन्छ” भन्ने संदेशसहित कार्यक्रम समापन गरे ।


