दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपालले शानदार प्रदर्शन गर्दै टी-२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ आश्विन ३० गते, बिहीबार ७:३४

काठमाडौं ।नेपालले शानदार प्रदर्शन गर्दै टी-२० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले पराजित गरेको छ। यस जितसँगै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ र उपाधि जित्ने सम्भावना अझ मजबुत बनाएको छ। अपराजित यात्रामा रहेको नेपालले यसअघि नै विश्वकपका लागि स्थान सुरक्षित गरिसकेको थियो।

मस्कटमा सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५१ रनको प्रतिस्पर्धात्मक योगफल बनायो। ओपनर कुशल भुर्तेलको दमदार ब्याटिङ र अन्त्यतिर गुलशन झाको तिखो प्रदर्शनले नेपाललाई बलियो अवस्थामा पुर्‍यायो। कुशलले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ६९ रनको उत्कृष्ट पारी खेले, जुन खेलको टर्निङ पोइन्ट सावित भयो।

नेपालले पहिलो पावरप्लेमा नै ५२ रन जोड्दै बलियो सुरुवात गर्‍यो। कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे। आसिफ २४ रनमा आउट भएपछि नेपालले केही विकेट छिट्टै गुमायो—कप्तान रोहित पौडेल १ रनमा र दीपेन्द्र सिंह ऐरी २ रनमा नदिम खानकै बलमा पवेलियन फर्किए। नदिमले आफ्नो जादुई बलिङमा पहिलो चार विकेट लिँदै नेपाललाई दबाबमा राखे।

कुशल मल्लले आजको खेलमा खास प्रदर्शन गर्न सकेनन्, तर टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरे। उनी यो कीर्तिमान बनाउने पाँचौं नेपाली खेलाडी बनेका छन्। अन्त्यतिर गुलशन झाको १० बलमा १८ रनले टोलीको रन गति बढायो।

१५२ रनको लक्ष्य पछ्याएको ओमान नेपाली बलरहरूको आक्रमण सामु टिक्न सकेन। २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमै सिमित रह्यो। सुरुवाती ओभरमै ओमानले २७ रनभित्र तीन विकेट गुमाएको थियो। कप्तान जतिन्द्र सिंह १४ रनमा सोमपाल कामीको बलमा दीपेन्द्र ऐरीद्वारा क्याच आउट भए। त्यसपछि लगातार विकेट खस्दा ओमानको पारी धराशायी भयो।

गुलशन झा बलिङमा पनि चम्किए—४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले २–२ विकेट झारे भने सन्दीप लामिछानेले १ विकेट थपे। ओमानका ब्याटरहरूले साझेदारी बनाउन संघर्ष गर्दा नेपालले लगातार दबाब कायम राख्यो।

यो जितसँगै नेपालले लगातार चौथो जित हासिल गर्दै ८ अंकसहित तालिकाको शिखरमा पुगेको छ। दोस्रो स्थानमा ६ अंकका साथ ओमान झरेको छ। अब नेपालले अन्तिम खेलमा सामोआसँग भिड्नेछ। यस जितले नेपाललाई केवल विश्वकप सहभागी मात्र होइन, यो छनोट प्रतियोगिताको सम्भावित विजेता बन्ने प्रमुख दाबेदार बनाइदिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु