
एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी च्याम्पियनसिपको काठमाडौं उपत्यकाव्यापी छनोटमा भक्तपुर मोडर्न इंग्लस सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गरेको छ । उसले पुरानो गुहेश्वरी सेकेन्डरी स्कुललाई ५६–५० ले पराजित गर्दै सफलता हात पारेको हो ।
मिड भ्याली सेकेन्डरी स्कुल, थिमिमा आयोजित दुई दिने छनोट प्रतियोगितामा पहिलो स्थान सुरिक्षत गरेसँगै भक्तपुर मोडर्नले एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी च्याम्पियनसिपमा स्थान पनि पक्का गर्यो ।
आठ स्कुलले प्रतिस्पर्धा गरेको प्रतियोगिताको पहिलो खेलमा मोडर्नले काठमाडौं इन्टरनेसनल स्कुललाई ६९–१२ ले एकतर्फी रुपमा हराएको थियो भने सेमिफाइनलमा पनि पवन प्रकृति स्कुलमाथि ६१–२० को सहज जित हात पारेको थियो ।
पुरानो गुहेश्वरीले पहिलो खेलमा सेक्रिड हार्ट सेकेन्डरी स्कुललाई ५६–१९ र सेमिफाइनलमा भीमेश्वर एकेडेमीलाई ६२–६० ले पन्छाएको थियो । काठमाडौं इन्टरनेसनल, सेक्रिड हार्टसँगै मिड भ्याली र श्री लुभू सेकेन्डरी स्कुल पहिलो खेलमा बेहोरेको हारसँगै छनोटबाट बाहिरिएका थिए । पवन प्रकृति र भीमेश्वर पनि अन्तिम चारभन्दा माथि उक्लिन सकेनन् । छनोटमा पुरानो गुहेश्वरीका जुम्ल्याह राम रानामगर र लक्ष्मण रानामगरले बेस्ट रेइडर र बेस्ट डिफेन्डरको अवार्ड प्राप्त गरे ।
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले देशमा कबड्डी खेलाडी उत्पादन र विकास गर्ने उद्देष्यले आयोजित एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी च्याम्पियनसिपमा काठमाडौं उपत्यासँगै क्षेत्रीय स्तरमा पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा हुने छनोटका विजेता गरी कुल ६ टिमले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप एनकेएल सिजन २ कै अवसरमा सञ्चालन गरिने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ ।
एनकेएल सिजन २ को तयारीमा रहेको एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुट स्तरबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप आयोजना गर्न लागेको हो । यस प्रतियोगिताले नेपाली कबड्डी र एनकेएलप्रति आकर्षण बढ्ने आशा गरिएको एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए । ग्रासरुटबाट उत्पादित खेलाडी नै व्यावसायिक लिगको लागि तयार हुने विश्वास गरिएको छ ।
बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा केबी साम एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो । उसले संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो ।


