
काठमाडौं । स्थानीय तह कर्मचारी संघ, नेपालको केन्द्रीय समितिको पाँचौं बैठक धनकुटाको भेडेटारमा बस्ने भएको छ ।
संघको आज केन्द्रीय कार्यालय भृकुटीमण्डप काठमाडौंमा बसेको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको अध्यक्ष नारायणप्रसाद शर्माले बताए । संघको बैठक पौष १० र ११ गते बस्ने भनेर यसअघि निर्णय गरिएको भए पनि विशेष कारणले सरेको संघका महासचिव शम्भु बरालले बताए । ‘आज बसेको सचिवालय बैठकले समसामयिक विषयमा छलफल गर्दै केन्द्रीय समितिको बैठकको मिति टुंगो लगाएको हो ’उपमहासचिव विष्णु पौडेलले भने । बैठकमा जिल्ला शाखासँगै संघलाई तल्लो तहसम्म पनि बिस्तार गर्दै लाने विषयमा पनि छलफल भएको महासचिव बरालले जनाए । संघले समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल गर्दै आएको पनि जनाएको छ । संघले हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट निर्वाचित पदाधिकारीलगायत सबैलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेको छ ।
संघका कोषाध्यक्ष कुवेर के.सी.ले कार्यालय बन्द हुने दिन पारेर बैठक आयोजना गरिएको बताए । ‘हामी जनताको कामसँग प्रत्यक्ष रुपमा जोडिएका हुन्छौं, एकदिन होइन एकैछिन हामी नहुँदा पनि नागरिकको काममा बाधा प्ुग्ने भएकाले बिदा हुने समय मिलाएर बैठक बोलाइएको हो’ केसीले. भने ‘स्थानीय तहका कर्मचारीले धेरै काम गरेर जिम्मेवारी लिनुपरेको भए पनि कहिलेकाहीँ बिनाकारण हामीमाथि आरोप लगाइन्छ, यो दुःखद् कुरा हो ।’ केसीले कर्मचारीका साझा मुद्या र सरोकारका विषयमा संघ निरन्तर लागिरहेको बताएका छन् ।


