
म प्रतिनिधिसभा सदस्य बन्न चाहन्छु
कसैले भन्छ—
“हे अमेरिकन आयो, डीप स्टेट आयो।”
कसैले भन्छ—
“पश्चिमाको खोल बोकेर आएको हो।”
कसैले मलाई विदेशी दलाल भन्छ,
कसैले कसैको PR,
कसैले विदेशी नागरिकको ठप्पा लगाउँछ।
कोही मलाई महाराजगञ्जको षड्यन्त्र देख्छ,
कोही लैनचौरको षड्यन्त्र ठान्छ।
तर कसैले यसो भनेन—
“हेलो मित्र,
तिमी त विदेशमा छौ,
केही डलर, पाउण्ड, युरो पठाइदिऊँ?”
म त जीवनभर
एकथान नेपालको सांसद बन्न चाहेको मान्छे हुँ।
त्यसैले म आज
जलेबी पकाइरहेछु,
उखु बोकेर हिँडिरहेछु,
हजारौँको लाइन
कालो चस्मा, कालो कोट
र कालो गाडीको आरोप
अलिकति सहयोगको आशामा
बोकेर हिँडिरहेछु—
केवल एकथान सांसद बन्नका लागि।
तर मेरो चाहना सत्ता होइन,
मेरो सपना सिंहदरबार होइन।
म त केवल
सगरमाथा र बुद्धको देश
हाँसेको मात्र देख्न चाहन्छु।
म मेरो प्रकृति बेच्न चाहन्छु—
पहाड, नदी, आकाश।
म नेपाली मनको संस्कृति बेच्न चाहन्छु
विश्वभरिका पर्यटकका लागि।
म मेहनत र परिश्रम बेच्न चाहन्छु,
इमान र पसिनाको मूल्य राख्न चाहन्छु।
राजनीति होइन,
लाजनीति होइन—
म त केवल
नेपालको मुस्कान
विश्वले देखोस् भन्ने चाहन्छु। 🇳🇵
लेखक – विदेशमा रहेर पनि नेपाली कला संस्कृति, खाना एवं पर्यटन प्रवर्धन गरी नेपाल राष्ट्रको सम्वृद्धि र विकास गर्ने उद्देश्य लिई सातै महादेशमा नेपाली खाना, हामी सबैको चाहना’ भन्ने अभियानका अभियान्ता प्रख्यात नेपाली फूड गुरु सुरेन्द्रचन्द्र बस्नेत हुनुहुन्छ!


