तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेल्टाको ३०औँ अन्तर्राष्ट्रिय सम्मेलन माघ १६ देखि काठमाडौँमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ माघ १५ गते, बिहीबार ६:०९

काठमाडौँ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को ३०औं अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार (माघ १६ गते) देखि काठमाडौँको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा सुरु हुने भएको छ । नेपालसहित विश्वका १५ देशका ८ सयभन्दा बढी अङ्ग्रेजी शिक्षक तथा विज्ञहरूको सहभागिता रहने यो सम्मेलन दुई दिनसम्म चल्नेछ ।

‘भावी पुस्ताका लागि अङ्ग्रेजी भाषा शिक्षण: मानव, पृथ्वी र शान्तिका लागि शिक्षा’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनको उद्घाटन त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले गर्नुहुनेछ ।

नेल्टाका अध्यक्ष प्रा.डा. लक्ष्मण ज्ञवालीका अनुसार सम्मेलनमा अमेरिका, बेलायत, चीन, भारत, जापान, अस्ट्रेलियालगायतका मुलुकबाट आएका विज्ञ र नेपालका शिक्षकहरूले शिक्षण पद्धतिबारे अनुभव आदानप्रदान गर्नेछन् ।

सम्मेलनमा ५ वटा ‘किनोट’ र ६ वटा ‘प्लेनरी’ सत्रसहित १३४ वटा समानान्तर सत्र (कन्करेन्ट सेसन), कार्यशाला र शैक्षिक बहसहरू सञ्चालन हुनेछन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै यसपटक सम्मेलनको अवधि छोट्याएर दुई दिनमा सीमित गरिएको छ ।

नेल्टाका द्वितीय उपाध्यक्ष डा. भीम गौतमले विषम परिस्थिति भए पनि संस्थाको ३० वर्षदेखिको अन्तर्राष्ट्रिय साख जोगाउन र निरन्तरता दिन कार्यक्रम नरोकिएको बताउनुभयो ।

आयोजकले निर्वाचन आयोगको आचारसंहिता र स्थानीय प्रशासनको सुरक्षा मापदण्डभित्र रहेर शैक्षिक बहस मात्र गरिने स्पष्ट पारेको छ ।

नेल्टाका प्रथम उपाध्यक्ष जयराम खनालले असहज अवस्थामा पनि अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र १५ भन्दा बढी राष्ट्रको सहभागिता हुनुलाई नेल्टाको निरन्तर उलब्धी मान्न सकिने बताउनु भयो ।

सम्मेलनलाई अमेरिकन राजदूतावासको ‘रेलो’, ब्रिटिश काउन्सिल र विभिन्न शैक्षिक संस्थाहरूले सहयोग गरेका छन् ।

सन् १९९२ मा स्थापना भएको नेल्टा नेपालमा अङ्ग्रेजी भाषा शिक्षणको गुणस्तर उकास्ने उद्देश्य बोकेको गैर-राजनैतिक संस्था हो । हाल यसका सातै प्रदेश र ६५ जिल्लामा शाखा विस्तार भएका छन् भने ५ हजार ७ सयभन्दा बढी आजीवन सदस्यहरू आबद्ध छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु