
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मधेस प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार भरत गिरीले राष्ट्र, राष्ट्रियता, सुशासन र स्थिर राजनीतिक व्यवस्थाको अपरिहार्यतालाई औँल्याउँदै आम मतदातालाई राप्रपालाई समर्थन गर्न अपिल गरेका छन्।
हाल देश भ्रष्टाचार, राजनीतिक अस्थिरता र मूल्यहीन अभ्यासको चपेटामा परेको उल्लेख गर्दै गिरीले यस्ता विकृतिले राष्ट्रको भविष्यमा गम्भीर असर पारिरहेको बताए। भ्रष्टाचारलाई उनले “आमाको रगत खानु सरहको गम्भीर अपराध”को संज्ञा दिँदै भ्रष्टाचार नियन्त्रण बिना समृद्ध राष्ट्र निर्माण असम्भव रहेको स्पष्ट पारे।
उनका अनुसार राप्रपाले राष्ट्रवाद, धर्म–संस्कृतिको संरक्षण, सुशासन र जवाफदेही शासन प्रणालीलाई आफ्नो मूल एजेन्डाका रूपमा अघि सारेको छ। साथै, हिन्दु राष्ट्र कायम गर्ने र राजसंस्थासहितको प्रजातान्त्रिक व्यवस्थामार्फत भ्रष्टाचारमुक्त, सबल र समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्य पार्टीको रहेको उनले बताए।
मधेस प्रदेश अध्यक्ष गिरीले कृषि उत्पादन वृद्धि, किसानमुखी नीति, ऊर्जा र पानीको सदुपयोग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार, धार्मिक–सांस्कृतिक पहिचानको संरक्षण र आर्थिक आत्मनिर्भरतालाई राप्रपाका प्रमुख प्राथमिकताका रूपमा उल्लेख गरे।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको नेतृत्वमा पार्टी वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढिरहेको उल्लेख गर्दै गिरीले “अहिले होइन भने कहिले होइन, हामी होइन भने को?” भन्ने सन्देशसहित सचेत, विवेकपूर्ण र जिम्मेवार मत प्रयोग गर्न मतदातालाई आग्रह गरे।
अन्त्यमा, राष्ट्र निर्माणको अभियानमा सबै नागरिकको सक्रिय सहभागिताको आह्वान गर्दै उनले “जय राष्ट्रवाद!” भन्ने नारासहित आफ्नो धारणा व्यक्त गरे।


