तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एनकेएल ड्राफ्टमा विभागीय खेलाडीको वर्चस्व

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८२ फाल्गुन २ गते, शनिबार १८:३८

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको ‘ड्राफ्ट’ को लागि छनोट भएका १ सय ४७ नेपाली खेलाडीमा विभागीय टिमले वर्चस्व कायम गरेको छ, जसमा नेपाली सेना (त्रिभुवन आर्मी क्लब), नेपाल प्रहरी (पुलिस क्लब) र सशस्त्र प्रहरी बल (एपीएफ क्लब) का ३५ खेलाडी परेका छन् ।
आउने चैत्र महिनामा हुने ड्राफ्टका लागि आर्मी र एपीएफका १२–१२ जना तथा पुलिसबाट ११ खेलाडी छनोट भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ । त्यस्तै, मधेश प्रदेशका २३, लुम्बिनीका २०, बागमतीका १५, सुदूरपश्चिमका १५, कोशीका १४, कर्णालीका १३ र गण्डकीका १२ खेलाडीले ड्राफ्टमा स्थान बनाएका छन् । उनीहरूलाई तीन समूहमा वर्गीकरण गरी ड्राफ्टमा राखिनेछ ।
दोस्रो सिजनको लागि स्वदेशी ५ सय १२ खेलाडीले नाम दर्ता गरेका थिए । त्यसबाट १ सय ८० खेलाडीले ‘प्लेयर ट्रायल्स’ ले प्रतिस्पर्धा गरेका थिए । ड्राफ्टको लागि प्लेयर ट्रायल्सबाट १ सय ६ जना खेलाडी छनोट भएका हुन् भने बाँकी ४१ खेलाडी गत माघमा सम्पन्न २५ औं राष्ट्रिय कबड्डी प्रतियोगिताबाट छनोट गरिएको हो । फ्रेन्चाइजको आधारमा बनाइएका ६ सहरका ६ टिमले ड्राफ्टमार्फत् एनकेएल दोस्रो सिजनमा प्रतिस्पर्धा गर्ने टिम तयार पार्नेछन् ।
स्वदेशी खेलाडीसँगै ड्राफ्टमा बिदेशी खेलाडी पनि हुनेछन् । एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले भने, ‘यसपाली दर्जन बढी देशका उत्कृष्ट खेलाडीले नेपाल आएर एनकेएल खेल्न चाहेका छन् । दर्ता गर्ने क्रम जारी नै छ । त्यसैले ड्राफ्टमा समावेश गरिने बिदेशी खेलाडीको संख्या चाँडै सार्वजनिक गर्नेछौं ।’
बेगानी ग्रुपको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघसँग सम्झौता गरेपछि गत वर्ष एनकेएलको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको थियो । संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा ल्याइएको एनकेएलले नेपालमा व्यावसायिक कबड्डीको सुरुआत गरेको हो । अहिले दोस्रो सिजनको तयारी तीब्र गतिमा भइरहेको छ । म्यारियट होटेलमा सोमबार एक कार्यक्रम आयोजना गर्दै एनकेएल सिजन २ घोषणा गर्दैछ ।
एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुटबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप पनि सुरु गरेको छ । पहिलो सिजन ६ सहरका ६ टिम विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमान्चक फाइनलमा काठमाडौंमाथि ४३–४१ को जित रच्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु