
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।
कुल खसेको ८७ हजार २८ मतमध्ये उहाँले ५४ हजार ४०२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले १४ हजार ५६४ मत प्राप्त गर्नुभएको छ । यससँगै लामिछाने ३९ हजार ६३८ मतान्तरले विजयी हुनुभएको हो ।
त्यसैगरी नेकपा (एमाले)का उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गर्नुभएको छ । यस जितसँगै लामिछानेले अघिल्ला निर्वाचनमा आफूले प्राप्त गर्नुभएको मतको रेकर्डसमेत तोड्नुभएको छ।
यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उहाँले ४९ हजार ३०० मत प्राप्त गर्नुभएको थियो भने २०८० को उपनिर्वाचनमा ५४ हजार १७६ मत प्राप्त गर्नुभएको थियो ।
यसपटक भने उहाँले आफ्नै मतको रेकर्ड पार गर्दै ५४ हजार ४०२ मत प्राप्त गर्नुभएको हो । चितवन–२ मा यस निर्वाचनमा २ हजार ७९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


