
–जेसि निर्मला प्रधान
दुधे झापा। भीडभन्दा टाढा बस्दा मात्रै मानिसले आफैसँगको दूरी कति रहेछ भन्ने महसुस गर्न सक्छ। जब बाहिरी कोलाहल थामिन्छ, भित्रको आवाज प्रस्ट सुन्न थालिन्छ।
मैले पनि केही समय यस्तै शान्त ठाउँ रोजेँ— जहाँ शब्द कम थिए, तर अनुभूति गहिरा थिए। यो शान्त परिवेशले मलाई जीवनका थुप्रै पाठ सिकायो। यहाँ कुनै प्रतिस्पर्धा थिएन, कुनै देखावटीपन थिएन, न त अरूलाई प्रभावित पार्ने दौड। केवल म थिएँ र मेरो आफ्नै अस्तित्व। यही एकान्तले मलाई सिकायो— आफूलाई बुझ्न सबैभन्दा पहिले आफूलाई समय दिनुपर्छ।
हामी प्रायः भीडमा हराएर आफ्नो वास्तविकता बिर्सिन्छौं। अरूको चाहना, अपेक्षा र मूल्याङ्कनमा अल्झिएर आफ्नो मौलिकता गुमाउँछौं। तर जब म आफैसँग नजिक भएँ, तब थाहा पाएँ— साँचो आनन्द त सरलतामै रहेछ। सानो कुरामा खुशी हुनु, सीमित चाहनामा सन्तुष्ट हुनु, र मनभित्रको शान्तिलाई महसुस गर्नु— यही नै जीवनको वास्तविक सौन्दर्य हो।
आजको समयले हामीलाई जटिलता त सिकायो, तर सरलता बिर्सायो। हामी धेरै कुरा पाउन खोज्दै जाँदा, आफूलाई नै गुमाइरहेका छौं। तर जब हामी थोरैमा रमाउन सिक्छौं, त्यहीँबाट जीवनको गहिरो अर्थ खुल्दै जान्छ।
यो शान्त ठाउँले मलाई केवल अनुभव मात्र दिएन, जीवन हेर्ने दृष्टिकोण पनि बदलिदियो। अब म भीडभन्दा टाढा रहेर, आफैसँग नजिक रहन चाहन्छु। किनकि यही नजिकपनले मलाई साँचो स्वतन्त्रता र सन्तुष्टि दिएको छ।
अन्ततः, जीवनको सार धेरै पाउनुमा होइन— आफूलाई पाउनुमा रहेछ।
@News from NAMI Weekly News Paper


