
महाकुम्भ २०२५ बाट एकाएक चर्चामा आएकी ‘भाइरल गर्ल’ मोनालिसाले विवाह गरेकी छिन्। महाकुम्भमा भाइरल भएसँगै अभिनेत्री बनेकी मोनालिसाले परिवारको इच्छाविपरीत आफ्नो प्रेमी फरमान खानसँग केरलामा विवाह गरेकी छिन्। परिवारको कडा विरोधका बावजुद उनले तिरुवनन्तपुरमको एक मन्दिरमा हिन्दू रीतिरिवाज अनुसार विवाह गरेकी हुन् ।
प्रयागराज महाकुम्भमा रुद्राक्षको माला बेचिरहेको अवस्थामा उनी गाजलु आँखा र ‘मिलियन डलर स्माइल’ले रातारात भाइरल भएकी थिइन्। उनी भाइरल हुँदा १६ वर्षको मात्र भएको र अहिले पनि नाबालिग नै रहेको केही रिपोर्टहरूमा दाबी गरिएको छ। यसले गर्दा यो ‘बाल-विवाह’ हुन सक्ने आशंका उब्जिएको छ। तर उनका पति फरमान खानले प्रतिक्रिया दिँदै मोनालिसा नाबालिग नभएको बताएका छन्। उनले सञ्चारमाध्यमलाई विवाह दर्ता प्रमाणपत्र देखाउँदै मोनालिसा १८ वर्ष पूरा भइसकेको (वयस्क) प्रमाण पेश गरेका छन्।
मोनालिसाले आफ्ना बुबाले जबर्जस्ती अर्को व्यक्तिसँग विवाह गरिदिन लागेको भन्दै केरला प्रहरीसँग सुरक्षा मागेकी थिइन्। प्रहरीले उनी वयस्क भएको ठहर गर्दै उनलाई आफ्नो इच्छा अनुसार बाँच्ने अनुमति दिएको थियो। मोनालिसाका पति पनि पेशाले अभिनेता हुन्। उनीहरुको प्रेम सम्बन्ध मात्र ६ महिना पुरानो हो। तर, यो प्रेम भावनात्मक रूपमा ६० वर्ष बराबरको गहिरो भएको फरमानले सञ्चारमाध्यमहरुलाई बताएका छन् ।
मोनालिसा इन्दौरकी बासिन्दा हुन् भने फरमान महाराष्ट्रका हुन्। उनीहरूबीच फेसबुकमार्फत प्रेम सम्बन्ध सुरु भएको थियो। हाल मोनालिसा एक मलायालम फिल्मको सुटिङका लागि केरलामा थिइन्, जहाँ उनले यो कदम चालेकी हुन्। यो विवाहलाई लिएर सामाजिक सञ्जालमा ‘लभ जिहाद’ सम्बन्धी बहस चर्किएको छ।
उनको विवाहका तस्बिर र भिडियोहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। जसमा मोनालिसा दुलहीको पहिरनमा आफ्ना पति फरमान खानसँग निकै खुसी देखिएकी छिन्।


