
काठमाडौं, चैत्र २६, २०८२ । हाम्रो जन्मभूमी सामाजिक संस्थाले आफ्नो ५औं स्थापना दिवस विविध सामाजिक कार्यक्रमहरू आयोजना गरी अर्थपूर्ण रूपमा मनाएको छ। स्थापना कालदेखि नै शिक्षा, स्वास्थ्य तथा विपन्न वर्गको उत्थानमा सक्रिय रहँदै आएको संस्थाले यसपटक पनि सेवामुखी कार्यलाई निरन्तरता दिएको हो।
स्थापना दिवसको अवसरमा संस्थाले ललितपुरको गोदावारीस्थित मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टरमा आश्रित ७५ जना अनाथ बालबालिकाहरूलाई मिष्ठान्न भोजन गराउनुका साथै शैक्षिक सामग्री वितरण गरेको छ। उक्त कार्यक्रम संस्थाकी अध्यक्ष गीता श्रेष्ठको संयोजकत्व तथा पूर्व वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रम संस्थाका उपाध्यक्ष नारायण श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने रिता थापा देउजा, झम्क बहादुर श्रेष्ठ, अम्रिता ढुङ्गाना केसी, लक्ष्मी श्रेष्ठ, उर्मिला अधिकारी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सागर श्रेष्ठले संस्थाले स्थापना कालदेखि हालसम्म समाजमा पुर्याएको योगदानको चर्चा गर्दै सामाजिक सेवामा निरन्तरताको आवश्यकता औंल्याउनुभयो। त्यस्तै, अध्यक्ष गीता श्रेष्ठले सहयोगी मनहरू प्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहकार्यको अपेक्षा गर्नुभयो।
मृगौला पिडितलाई आर्थिक सहयोग
यसै दिन संस्थाले मोरङ जिल्लाको मित्लाजुङ गाउँपालिका–४ हात्तिमारामा बसोबास गर्ने दुबै मृगौला फेल भई आर्थिक अभावमा उपचाररत सुक बहादुर राईलाई नगद रु ६१ हजार ५ हस्तान्तरण गरेको छ। उक्त सहयोग संस्थाका सञ्चालक सदस्य अम्बिर बहादुर राई (राई कान्छा)को संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा समाजसेवी तथा सहयोगी मनहरू उमेश, विमला, रुपा, नन्दकुमारी लगायतको उपस्थिति रहेको थियो।
उल्लेखनीय छ कि हाम्रो जन्मभूमी सामाजिक संस्थाले विगतका वर्षहरूमा पनि विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाले असहाय तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग, विपद् प्रभावितलाई राहत वितरण, रक्तदान कार्यक्रम तथा विभिन्न जनचेतनामूलक अभियानहरू सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्दै आएको छ।
५औं स्थापना दिवसको अवसरमा आयोजना गरिएका यी कार्यक्रमहरूले संस्थाको सेवामूलक भावना, सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतालाई अझ सशक्त रूपमा उजागर गरेको छ।


