
सागर श्रेष्ठ
काठमाडौं — विद्यालय शिक्षामा पछिल्लो समय देखिएको अन्योल, नीतिगत अस्पष्टता र सुधारका चुनौतीबारे केन्द्रित एक प्यानल डिस्कसन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कलेज रिडर्सको आयोजनामा “School Education: Challenges and Probable Way Forward” शीर्षकमा वैशाख ६ गते धोबिधारास्थित कुमारी हल, इस्लिङ्टन कलेजमा कार्यक्रम गरिएको हो।
कार्यक्रम HISSAN, PABSON र N-PABSAN सँगको सहकार्यमा आयोजना गरिएको थियो। शिक्षा क्षेत्रमा भइरहेका नीतिगत परिवर्तन, निजी तथा संस्थागत विद्यालयमाथि बढ्दो दबाब, अभिभावक र विद्यार्थीबीच देखिएको विश्वासको संकटलगायत विषयमा कार्यक्रममा गहन छलफल भएको आयोजकले जनाएको छ।
कार्यक्रमको सुरुवात संयोजक भवानीप्रसाद पौडेलको स्वागत मन्तव्यबाट भएको थियो। उनले विद्यालय शिक्षामा देखिएका समस्या समाधानका लागि नीति निर्माण तहदेखि विद्यालय व्यवस्थापनसम्म सबै सरोकारवालाबीच सहकार्य र स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताए।
HISSAN का महासचिव रामहरि सिलवालले शिक्षा क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउँदै नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको योगदान समेट्नुपर्नेमा जोड दिए। उनले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने धारणा पनि व्यक्त गरे।
त्यसैगरी PABSON का प्रमुख सल्लाहकार डिके ढुंगानाले सरकारका केही निर्णयहरू पर्याप्त परामर्शविना गरिएको भन्दै असन्तुष्टि जनाए। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा निर्णय गर्दा सबै सरोकारवालाको सहभागिता अनिवार्य हुने उनले बताए।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको प्यानल डिस्कसनमा HISSAN अध्यक्ष युवराज शर्मा, PABSON अध्यक्ष कृष्ण अधिकारी, N-PABSAN अध्यक्ष सुबास न्यौपाने तथा राष्ट्रिय अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी सहभागी थिए। उनीहरूले विद्यालय शिक्षाको वर्तमान अवस्था, कमजोरी, नीतिगत अस्पष्टता र सुधारका उपायबारे आ–आफ्ना धारणा राखेका थिए।
प्यानलिस्टहरूले शिक्षा प्रणालीमा गुणस्तर सुधारका लागि नीति र कार्यान्वयनबीचको खाडल कम गर्नुपर्नेमा जोड दिएका थिए। साथै निजी विद्यालयहरूको योगदानलाई राज्यले सकारात्मक रूपमा मूल्यांकन गर्नुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।
छलफलका क्रममा अभिभावकको बढ्दो अपेक्षा, विद्यार्थीहरूको बदलिँदो आवश्यकता र प्रविधिको प्रभावबारे पनि बहस भएको थियो। शिक्षा प्रणालीलाई समयसापेक्ष बनाउन पाठ्यक्रम, शिक्षण विधि र मूल्यांकन प्रणालीमा सुधार आवश्यक रहेको वक्ताहरूले औंल्याए।
कार्यक्रममा सरकारी र निजी क्षेत्रबीच सहकार्य अभावले समस्या बढाएको निष्कर्ष निकाल्दै विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइयो। अभिभावक प्रतिनिधि सुप्रभात भण्डारीले नीति निर्माण प्रक्रियामा अभिभावकको आवाज समावेश गर्नुपर्ने आवश्यकता औंल्याए।
सहभागीहरूले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै दीर्घकालीन नीतिगत स्थायित्व कायम गर्नुपर्ने धारणा व्यक्त गरे। बारम्बार हुने नीतिगत परिवर्तनले विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबैमा अन्योल सिर्जना गर्ने भएकाले स्थिर र स्पष्ट नीति आवश्यक रहेको उनीहरूको भनाइ थियो।
समग्रमा, उक्त प्यानल डिस्कसनले विद्यालय शिक्षाको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे गहिरो विश्लेषण गर्दै सुधारका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने प्रयास गरेको आयोजकले जनाएको छ। साथै यसले नीति निर्माण तहमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


