
कागेश्वरी मनोहरा नगरपालिका डाँछी नयाँ गाउँमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सिन्दुर जात्रा भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। अक्षय तृतीयको पावन अवसरमा आयोजना हुने यस जात्रा पौराणिक रूपमा कान्ति भैरव, चम्पक तथा नव गणेशसँग सम्बन्धित रही प्राचीनकालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको हाम्रो अमूल्य सांस्कृतिक सम्पदा हो।
कागेश्वरी मनोहरा नगरपालिका वडा नंबर ४ डाँछी नयाँ गाउँमा आज शनिवार भएको जात्रामा मेयर उपेन्द्र कार्कीको विशेष सहभागिता रहेको थियो। मेयर कार्की रथजात्रामा सहभागिता मात्र नजनाइकन रथ बोक्ने कार्य समेत गरेर जात्रालाई रौनकता दिने कार्य भएको थियो।
यस जात्राले केवल धार्मिक आस्था मात्र नभई स्थानीय समुदायबीचको एकता, सहकार्य र सांस्कृतिक पहिचानलाई समेत सुदृढ बनाउँदै आएको छ। विशेषगरी नेवार समुदायको सक्रिय सहभागिताले यस परम्परालाई जीवित राख्न महत्वपूर्ण भूमिका खेलेको मेयर कार्कीको भनाई छ।
नगरपालिकाले यस्ता ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्दै स्थानीय जात्राहरूलाई विशेष महत्व दिँदै जात्रा विदा व्यवस्थापन, जात्रा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन तथा सांस्कृतिक कार्यक्रमहरूलाई संस्थागत रूपमा अगाडि बढाउने कार्यहरू प्रभावकारी रूपमा अगाडि बढाइएको जानकारी पनि मेयर कार्कीले दिएका छन्।
हाम्रो मौलिक संस्कृति, हाम्रो पहिचान हो। यसको संरक्षण, संवर्द्धन र आगामी पुस्तामा हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व हो। वैशाख ७ गते समापन हुने यो बर्षको मूल जात्रालाई अझ भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्पूर्ण आम नगरवासीमा हार्दिक आह्वान गर्दछु भनेर मेयर कार्कीले भनेका छन्।


