
सरिता ढकाल
नेपाली राजनीतिमा पछिल्ला दिनहरूमा देखिएका घटनाहरूले हरेक सचेत नागरिकको मन दुखाएको छ। विशेषगरी संसद भवनभित्र देखिएको अराजकता, उद्दण्डता, अनुशासनहीनता र असभ्य व्यवहारले लोकतन्त्रको सर्वोच्च थलोको गरिमा नै प्रश्नको घेरामा परेको छ। संसद जनताको आवाज बोल्ने, नीति निर्माण गर्ने र राष्ट्रका महत्वपूर्ण विषयमा गम्भीर छलफल गर्ने स्थान हो। तर विडम्बना, कतिपय सांसदहरूले त्यही पवित्र थलोलाई व्यक्तिगत घमण्ड, दम्भ, द्वन्द्व र शक्ति प्रदर्शन गर्ने मञ्च बनाएको देखिन्छ।
संसदमा देखिएको यो अवस्था खुला आँखाले हेर्न पनि कठिन छ र मनको आँखाले स्वीकार गर्न पनि कठिन छ। नेपाली जनताले आफ्ना अमूल्य मत दिएर देशको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिएका प्रतिनिधिहरूबाट मर्यादित, जिम्मेवार र अनुशासित व्यवहारको अपेक्षा गरेका थिए। तर केही सांसदहरूको व्यवहारले जनताको विश्वासमाथि नै गम्भीर चोट पुर्याएको छ।
देश परिवर्तनको आशा, सुशासनको अपेक्षा र शान्ति तथा समृद्धिको सपना बोकेका नेपालीहरू आज निराश बन्न बाध्य भएका छन्। “अब देशको मुहार फेरिन्छ, अब शान्ति र स्थिरता आउँछ, अब इमानदार भएर काम गरेर बाँच्न पाइन्छ” भन्ने जनअपेक्षा क्रमशः कमजोर बन्दै गएको देखिन्छ। यसको प्रमुख कारण नेतृत्व तहमा देखिएको गैरजिम्मेवार प्रवृत्ति हो।
राजनीतिमा अनुशासन, संयमता, सालीनता र नैतिकता अपरिहार्य गुणहरू हुन्। तर जब जनप्रतिनिधिहरू नै अनुशासनको सीमा नाघ्छन्, तब देशले कस्तो भविष्यको अपेक्षा गर्ने? जनताले कसरी विश्वास गर्ने? संसदभित्र देखिएको उद्दण्डपनले गलत सन्देश प्रवाह गरेको छ। यस्तो व्यवहार सामान्य नागरिकले समेत गर्न नसक्ने खालको हुन्छ भने राष्ट्रको नेतृत्व गर्ने जिम्मेवारी पाएका व्यक्तिहरूबाट त झन् कल्पना गर्न सकिँदैन।
यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि तत्काल छानबिन गरी कडा कारबाही गरिनुपर्छ। संसदको गरिमा कायम राख्न दोषीलाई राजनीतिक संरक्षण होइन, कानुनी र नैतिक दायित्वअनुसार दण्डित गरिनुपर्छ। आवश्यक परे संसद सदस्य पदबाट समेत हटाउने व्यवस्था लागू गरिनुपर्छ। अनुशासनविहीन र अराजक व्यवहारलाई कुनै पनि हालतमा सामान्य मान्न सकिँदैन।
त्यसैगरी नेपाली जनताले पनि आफ्नो मतको मूल्य बुझ्न आवश्यक छ। आगामी दिनमा यस्ता प्रवृत्तिका व्यक्तिहरूलाई जनताले नै अस्वीकार गर्नुपर्छ। लोकतन्त्रमा जनताको मत नै सबैभन्दा ठूलो शक्ति हो। यदि जनताले गलत प्रवृत्तिलाई निरन्तर स्वीकार गरिरहे भने त्यसको नकारात्मक प्रभाव देश र भावी पुस्ताले भोग्नुपर्ने हुन्छ।
आजको आवश्यकता संसदलाई द्वन्द्व, घमण्ड र अराजकताको थलो बनाउने होइन, विचार, नीति, बहस र समाधानको केन्द्र बनाउने हो। संसद राष्ट्रको प्रतिष्ठा हो, लोकतन्त्रको प्रतीक हो। त्यसको मर्यादा जोगाउनु हरेक सांसदको पहिलो कर्तव्य हो।
यदि आज पनि यस्ता गलत प्रवृत्तिमाथि नियन्त्रण गरिएन भने यसको मूल्य केवल वर्तमान पुस्ताले मात्र होइन, आउने सातौँ पुस्तासम्मले चुकाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ। त्यसैले समयमै सचेत भएर संसदको गरिमा पुनर्स्थापित गर्न, अनुशासन कायम गर्न र जिम्मेवार राजनीतिक संस्कृतिको विकास गर्न सबै पक्ष गम्भीर बन्न आवश्यक छ। यही नै आजको नेपाली जनताको आवाज र अपेक्षा हो।


