
निजगढ, बारा, — निजगढ नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सञ्चालित ७ दिने घरबास (होमस्टे) व्यवस्थापन तथा आतिथ्य सेवा तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
जेठ १३ गतेदेखि सुरु भई जेठ १९ गते सम्पन्न भएको उक्त तालिम निजगढ नगरपालिका–४ स्थित बाघ भैरव सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सञ्चालन गरिएको थियो। तालिममा वडा नं. ४, ७ र ११ का कछडिया (थारू) तथा माझी समुदायका ७० जना सहभागी भएका थिए।
स्थानीय समुदायमा पर्यटन तथा होमस्टे सञ्चालनसम्बन्धी ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिमको उद्घाटन नगर उपप्रमुख सोममाया थिङको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत प्रसाद गौतमको विशेष आतिथ्यतामा भएको थियो।
तालिममा मुख्य प्रशिक्षक मोहन बहादुर गजुरेल, पाक प्रशिक्षक नकुल धिताल तथा कछडिया र माझी समुदायका अनुसन्धानकर्ता डा. उद्दव पुरीले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणका क्रममा नेपालमा पर्यटनको अवस्था, होमस्टे सञ्चालन कार्यविधि, पर्यटक आकर्षणका उपाय, आतिथ्य सेवा, वेटर सेवा, हाउसकिपिङ, सरसफाइ व्यवस्थापन, बगैंचा तथा फूलबारीको महत्त्व, साथै रैथाने खानपानको संरक्षण तथा प्रवर्द्धन सम्बन्धी विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो।
तालिममा सहभागीहरूले आफ्नो समुदायको सांस्कृतिक पहिचान झल्कने ७० भन्दा बढी स्थानीय तथा परम्परागत परिकार तयार गरी प्रदर्शन गरेका थिए। साथै, प्रशिक्षक मोहन बहादुर गजुरेलको सहजीकरणमा चार वटा सामुदायिक होमस्टे गठन प्रक्रिया अघि बढाइएको जनाइएको छ।
समापन समारोहमा नगर प्रमुख सुरथ पुरी प्रमुख अतिथि, उपप्रमुख सोममाया थिङ विशेष अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत प्रसाद गौतम लगायत विभिन्न वडाका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले निजगढ क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा परम्परागत सम्पदालाई पर्यटनसँग जोडेर आर्थिक समृद्धि हासिल गर्न होमस्टे कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने धारणा व्यक्त गरेका थिए।
तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै गुणस्तरीय होमस्टे सेवा सञ्चालन गर्ने प्रतिबद्धता सहभागीहरूले व्यक्त गरेका छन्। आयोजकले उक्त तालिमले निजगढ नगरपालिकामा सामुदायिक पर्यटन विकास, स्थानीय संस्कृति संरक्षण तथा रैथाने खानाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
तालिमका सहभागीहरू आ–आफ्नो जातीय पहिचान झल्काउने पारम्परिक पोशाक तथा गहनामा सहभागी भएका थिए, जसले कार्यक्रमलाई थप सांस्कृतिक आकर्षण प्रदान गरेको थियो।


